
बेलग्रेड । सर्बियाका लामो समयदेखि नेतृत्वमा रहेका अलेक्जेन्डर भुचिचले आकस्मिक संसदीय चुनावमा विद्यार्थी आन्दोलनसमक्ष आफ्नो हार स्वीकार गर्नुभएको छ ।दक्षिणपन्थी लोकवादी नेता भुचिचले हार स्वीकार गरेपछि सर्बियालीले उत्सव मनाएका छन् । राजधानी बेलग्रेडसहित विभिन्न शहरमा मानिसहरू सडकमा निस्किएर नाचगान र आतिसबाजी गर्दै खुशी मनाएका हुन् ।यसैबीच चुनाव जित्ने दल ‘स्टुडेन्ट लिस्ट’ का नेता इलिजा स्रदानोभिचले अब सर्बिया एक स्वतन्त्र राज्य बन्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
सर्बियाको निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्कअनुसार यस पटक कीर्तिमान सङ्ख्यामा मानिसहरूले मतदान गरेका छन् । मतदाताहरूको यो उच्च सहभागिताले विद्यार्थी आन्दोलनलाई फाइदा पुर्याउन सक्ने विश्लेषकहरूले बताएका थिए ।भुसिचको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) ले दुई वर्षदेखि चलिरहेको सरकार विरोधी आन्दोलनको दबावबीच आकस्मिक चुनाव गराएको थियो ।सन् २०२४ मा नोभी साद शहरको रेल्वे स्टेशनको छतको छाना खस्दा १६ जनाको ज्यान गएपछि आन्दोलन शुरू भएको थियो । यस घटनालाई भ्रष्टाचार र सरकारी लापर्बाहीको प्रतीकका रूपमा लिइएको थियो ।
चुनावमा भ्रष्टाचार विरोधी अभियान चलाएको विद्यार्थी समूह ‘स्टुडेन्ट लिस्ट’ ले सरकार विरोधी मतदातालाई आकर्षित गरेको थियो । यस समूहले संसद्का २५० सिटका लागि चिकित्सक, कलाकार, प्राध्यापक तथा खेलकुद क्षेत्रका व्यक्तिसहित विभिन्न पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवार बनाएको थियो ।विद्यार्थी आन्दोलनले भ्रष्टाचारमा संलग्न अधिकारीमाथि कारबाही, सार्वजनिक संस्थामा दलीय हस्तक्षेप अन्त्य तथा सरकारी प्रसारणमाध्यमलाई राजनीतिक नियन्त्रणबाट मुक्त गर्ने प्रतिबद्धता जनाएको छ ।भुसिच दुई कार्यकाल राष्ट्रपति भइसकेकाले तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न अयोग्य हुनुहुन्थ्यो । त्यसैले उहाँ आफ्नो पार्टीलाई जिताएर फेरि प्रधानमन्त्री बन्ने प्रयासमा हुनुहुन्थ्यो । सन् २०१७ मा उहाँले प्रधानमन्त्री पद छाड्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्