लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

IMG

तिलोत्तमा २०७८ बैशाख १९ गते आइतबार। लुम्बिनी प्रदेशका सबै अस्पतालमा कोरोना संक्रमितको उपचार गरेबापतको खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । उपचारलाई सहज, सरल र प्रभावकारी बनाउन सरकारी, निजी र मेडिकल कलेजमा उपचार गर्ने बिरामीको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री लिला गिरीले बताए । त्यसका लागि प्रदेशका कोभिड विशेष अस्पताल तथा निजी र मेडिकल कलेजले कोभिड संक्रमित बिरामीको उपचार खर्चमा एकरुपता ल्याउने गरी शुल्क निर्धारण गरिएको छ । जस अनुसार अक्सिजनसहितको एक बेडको प्रतिदिन तीन हजार ५००, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार, आईसीयू भेन्टिलेटरको एक बेडको प्रतिदिन १५ हजार रुपैयाँ तोकिएको छ । तोकिएको रकम सरकारले उपलब्ध गराउने भएकाले निजी अस्पतालले पनि बिरामीबाट शुल्क लिन नपाइने मन्त्री गिरीले बताए ।


उपचार खर्च लिन अस्पतालले कोभिड १९ संक्रमित बिरामीको उपचार विवरण प्रदेश सरकारको सफ्टवेयरमा अपडेट गर्नुपर्ने छ । त्यसका आधारमा संघबाट आएको रकम प्रदेश सरकारले अस्पतालहरुलाई उपलब्ध गराउने छ ।


लुम्बिनी प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल छन् । पाल्पा, रुपन्देही र बाँकेका ७ वटा निजी अस्पताल एवं मेडिकल कलेजमा पनि कोरोनाका बिरामीको उपचार भइरहेको छ । निजी अस्पताल एवं मेडिकल कलेजले महँगो उपचार खर्च लिएको गुनासो आएपछि सबैलाई एकरुपतामा ल्याउन अस्पताल सञ्चालकहरुको बैठकबाट निःशुल्क उपचार गराउने र रकम प्रदेश सरकारबाट उपलब्ध गराउने निर्णय गरेको मन्त्री गिरीले बताए ।

कमेन्ट गर्नुहोस्