
तिलोत्तमा, २०७७ माघ १०। रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम सिद्धार्थ पथकी सावित्रा भण्डारी विहान हुन साथ घरको छतमा पुग्छिन् । छतमा कौसी खेती गरेकी उनले तरकारी, फलफुल र फुलका विरुवाहरुमा पानी हाल्छिन् । सुकेका पात टिप्छीन् । केही समय करेसाबारीमा भुलेपछि मात्र घर भित्रको काम गर्दछिन् । लकडाउन अघि सम्म सावित्राको दैनिकी यस्तो थिएन । विहान उठ्ने उहि घरयासी काममा व्यस्त हुने थियो । तर लकडाउनले उनको दैनिकी फेरिएको छ ।
लकडाउनमा विद्यालय नखुल्दा छोराछोरी घरमै बसे । उनीहरुकै स्यारसुसारमा व्यस्त सावित्रा एक दिन सामाजिक सञ्जालमा कौसी खेतीका बारेमा देखिन् । त्यसपछि उनले आफै कौसी खेती गर्ने योजना बनाईन् । यो कुरा छिमेकी कल्पना भण्डारीलाई सुनाईन् । तरकारी संगै फलफुल पनि रोप्ने भन्दै रमेश पाण्डेलाई भनिन् । सवैले सहयोग र हौसला दिएपछि उनले लकडाउनकै बीचमा कौसी खेती सुरु गरिन् ।५ बर्ष अघि तिलोत्तमा बसाई सराई गरी आएकी सावित्राका श्रीमान विदेशमा छन् । २ सन्तान सहित तिलोत्तमा ५ मणिग्राम सिद्धार्थ पथमा बस्दै आएकी सावित्राको कौसी खेती साच्चै लोभलाग्दो छ । १० धुरमा बनेको एक तले घरको छतमा लटरम्म टमाटर फलाएकी छिन् । साग, गोभी, भन्डा र फलफुलका विरुवाले हरियाली मात्र बनेको छैन् । घरकै सुन्दरता बढाएको छ ।
कौसीमा तरकारी लगाउँदा कुहिने फोहोरलाई व्यवस्थापन समेत गर्न सकिने भएकाले लकडाउन पछि कौसी खेती सुरु गरेको सावित्राले बताईन्। ‘घरमा सामाजिक सञ्जालमा रमाउनु भन्दा करेसाबारीमा भुल्दा छुट्टै आनन्द आउने रहेछ । त्यसैले पनि तरकारी र फूलका विरुवाहरु रोपे’ उनले भनिन् ।बाहिरको भन्दा स्वस्थकर हुने भएकाले कौसीको तरकारी राम्रो हुने उनको भनाई छ । अहिले सावित्राले गोभि, धनिया, प्याज, साँग, सिमि, भिन्डी, खुर्सानी, काक्रा लगाएतका तरकारी कौसीमा लगाएका छिन् । तरकारी मात्र होइन उनले सयपत्री, गोदावरी, मखमली, धुपी, स्वीकस, बेगमबेली, डग फलावरका विरुवाहरु समेत उनले रोपेकी छिन् । घरको छतमै च्याउ खेती समेत गरेकी छिन् । गड्यौला मल बनाउने योजना समेत अघि बढाएकी सावित्राले कौसी खेती गर्नेहरुका लागि स्थानिय तहले तालिम दिएमा आफै स्वाबलम्ब बन्न सकिने बताउँछिन् ।बजारमा दैनिक जसो तरकारीको मुल्यबृद्धि, विषादी रहित तरकारी उपभोग गर्दा हैरानी भएका सावित्रा जस्तै धेरैले अहिले विकल्पमा कौसी खेतीलाई अगाडि सारेका छन् । कौसी खेतीबाट घरको कुहिने फोहोर व्यवस्थापनमा सहयोग पुग्ने समेत भएकाले अहिले रुपन्देहीमा कौसी खेती गर्नेहरुको लहर नै चलेको छ ।
रुपन्देहीको तिलोत्तमा, बुटवल, सिद्धार्थनगर, सैनामैना, देवदह लगाएतका क्षेत्रमा अहिले कौसे तरकारी खेती गर्न थालिएको छ । सामान्यतया कौसी खेती भन्नाले घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर खेती गर्नुलाई बुझिन्छ ।कौसीको खाली ठाउँको सदुपयोगबाट आर्गानिक तरकारी खेती गर्न सकिने र सानो परिवारलाई वर्षभरि पु¥याउन सकिने भएकाले पनि कौसी खेतीमा धेरै आर्कषित भएका छन् ।उक्त टोलमा कौसी खेती गर्ने सावित्रा एक्ली भने होइनन् । अहिले सोही टोलमा कल्पना भण्डारी, छविकला ढकाल, विष्णु गौतम, सम्भयता प्रोखेल, सुनिता पोख्रेलले समेत कौसी खेती गर्दै आएका छन् ।
टोलले अघि सारेको ‘एक घर एक बगैचा तथा कौसी खेती’ अभियान अनुसार टोलमै कौसी खेतीको सुरुवात गरिएको स्थानिय कल्पना भण्डारीले बताईन् ।‘घरमा बस्दा मनमा धेरै कुरा खेल्ने भएकाले पनि हामीले यो कौसी खेतीलाई अभियानै चलाएर गर्नुपर्छ भन्ने लाग्यो । मैले मात्र कौसीमा फलाएको सिमि बाट घरमा खाएर पनि १६ केजी विक्रि गर्न सके ।’ उनले भनिन् ।तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले कौसी खेती गर्नेहरुका लागि नगरपालिकाले विउ र प्राविधिक सहयोग गर्ने बताउँछन् । ‘हामीले यसलाई अभियानकै रुपमा लैजाने योजना बनाएका छौ । अहिले टोलहरु हामीले सिजन अनुसारका विउ विजन दिन थालेका छौ । छिट्टै अभियानको सुरुवात हुन्छ ।’ उनले भने ।
तस्बीर तथा समाचार :बिकाश पराजुली(कृषिपत्र )
कमेन्ट गर्नुहोस्