
लुम्बिनी– लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएको एक महिनापछि आनी छोइङ डोल्माले बुधबार पदभार ग्रहण गरेकी छन् । बुधबार लुम्बिनी आएलगत्तै मायादेवी मन्दिरमा पुजाआजा गरेकी उनले त्यसपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन्।स्थानीय स्तरका उपाध्यक्ष आनीको नियुक्तिको बिषयलाई लिएर विरोध भएकाले गौतमबुद्ध विमानस्थलबाट कडा सुरक्षाका साथ उनलाई लुम्बिनी पुर्याइएको थियो । उनको नियुक्तिलाई लिएर लुम्बिनीमा विरोध भइरहेको थियो । मंगलबार कोषाध्यक्षमा पूर्व एआईजी रमेश शेखर बज्राचार्य नियुक्त भएसँगै कोषले पूर्णता पाएको थियो । त्यसपछि बुधबार आनी लुम्बिनी आएकी हुन् । कोषाध्यक्ष बज्राचार्य र सदस्य–सचिव सन्तोष पाण्डेयले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपघि बसेको मन्त्रिपरिषद् बैठकले करिब ६ महिनादेखि रिक्त सदस्य–सचिवमा तिलोत्तमा नगरपालिकाका सन्तोष पाण्डेयलाई नियुक्त गरेको थियो ।सोही बैठकले परिषद् सदस्यमा डा. अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मीलाई नियुक्त गरेको थियो । उनीहरु चारै जना रूपन्देहीका हुन् । मायादेवी परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष आनीले लुम्बिनी सेवा गर्न आएको बताईन ।
उनले आफू आफ्नो क्षमता, बुद्धि र श्रोतले भ्याएसम्म लुम्बिनीको सेवा गर्ने बताईन । उनले सबै प्राणीहरुको सेवा गर्न लुम्बिनी आएको समेत बताईन । ‘हामी सबै टीमले काम गर्ने हो, मैले एक्लै के नै गर्न सक्छु र’, उनले भनिन्, ‘हाम्रो टीम र अन्य सबैको सहयोगमा काम गर्ने हो । यसमा सहकार्य गर्नेछौं’ उनले भनिन । उनले आफूले उपाध्यक्ष पदको जिम्मेवारी पाउनु शौभाग्य भएको जनाइन् ।उपाध्यक्ष डोल्मा नेपाली नागरिक नभएको र विवादित व्यक्ति भन्दै लुम्बिनी बचाउ महाअभियानले विरोध गर्दै आएको थियो । यसैले पनि उनी नियुक्तिको लामो समय लुम्बिनी आइनन् ।बुधबार पनि केही स्थानीय समूह लुम्बिनीको पर्साचोकमा जम्मा भएर विरोध गरेका थिए । आनीलाई विमानस्थल, शान्तिदीप, मायादेवी र कार्यालय परिसरमा स्थानीय, शुभेच्छुक, भिक्षुभिक्षुणी, कोषका पदाधिकारी तथा कर्मचारी, बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था र उद्योगी–व्यापारीले स्वागत गरेका थिए ।
सुशासन मुख्य प्राथमिकता : सदस्य सचिव
नवनियुक्त सदस्य सचिव सन्तोष पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीलाई नयाँ गतिमा लैजाने प्रतिबद्धता जनाएका छन् । पदभारग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।उनले सुशासन र भ्रष्टाचारप्रति शून्य सहनशिलता अपनाउँने बताए । उनले लुम्बिनीमा उठ्ने दानभेटीलाई पारदर्शी बनाउने बताए । लुम्बिनीको गुरुयोजना अनुसार काम गराउने सदस्य सचिव पाण्डेले प्रतिबद्धता जनाए । स्थानीय समुदायको मुद्धालाई पहिचान गरी स्थानीय सरकारसँग समेत बसेर सम्बोधन गर्ने उनले बताए ।
कमेन्ट गर्नुहोस्