लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–६ मा अब सस्तोमै आँखा उपचार, २५ रुपैयाँमै विशेषज्ञबाट आँखा जाँच

IMG

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दाले अब आफ्नै वडामा न्यून शुल्कमा विशेषज्ञ चिकित्सकबाट आँखा परीक्षण गराउन पाउने भएका छन् ।तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को कार्यालय र नेपाल नेत्रज्योति संघसँग सम्बद्ध रणअम्बिका आँखा अस्पताल, भैरहवाबीच आँखा उपचार केन्द्र सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार वडा नम्बर ६ को सभाहलको माथिल्लो तलामा अस्पतालले आँखा उपचार केन्द्र सञ्चालन गर्नेछ ।


उक्त केन्द्रबाट वरिष्ठ नेत्र विशेषज्ञ (अफ्थाल्मोलोजिस्ट) हरूले बिरामीको आँखा जाँच तथा परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । आँखा परीक्षणका लागि सामान्य शुल्क १५० रुपैयाँ निर्धारण गरिएको भए पनि वडा नम्बर ६ का स्थायी बासिन्दाले भने जम्मा २५ रुपैयाँ मात्रै तिरे पुग्नेछ ।वडा अध्यक्ष गणेश पाठकका अनुसार सम्झौताबमोजिम आँखा परीक्षणबापत लाग्ने १५० रुपैयाँमध्ये स्थानीय सेवाग्राहीले २५ रुपैयाँ तिर्नुपर्नेछ भने बाँकी १२५ रुपैयाँ वडा कार्यालयले व्यहोर्नेछ ।स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गर्न लागिएको वडा अध्यक्ष पाठकले बताउनुभयो ।


वडा कार्यालयले न्यून शुल्कमै वरिष्ठ नेत्र विशेषज्ञबाट आँखा परीक्षण गराउन सकिने भएकाले सम्पूर्ण वडावासीलाई यस अवसरको लाभ लिन तथा समयमै आफ्नो आँखाको जाँच गराउन अनुरोध गरेको छ ।वडामै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि सामान्य आँखा परीक्षणका लागि भैरहवा तथा अन्य स्थानमा पुग्नुपर्ने बाध्यता कम हुनुका साथै स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा वडा कार्यालयले गरेको छ ।

कमेन्ट गर्नुहोस्