लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब तिलोत्तमामै मालपोत र नापी कार्यालय, भैरहवा र बुटवल धाउनुपर्ने झन्झट हट्ने

IMG

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामै मालपोत तथा नापी कार्यालयबाट सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । यससँगै जग्गासम्बन्धी विभिन्न कामका लागि भैरहवा र बुटवल धाउनुपर्ने तिलोत्तमावासीको झन्झट हट्ने अपेक्षा गरिएको छ ।


मालपोत तथा नापी कार्यालय सञ्चालनका लागि उपयुक्त स्थान छनोट गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका–९ स्थित वडा कार्यालयसँगै रहेको सभाहलको निरीक्षण तथा अवलोकन गरिएको छ । नगरपालिकामा कार्यालय सञ्चालनका लागि उक्त स्थान उपयुक्त हुने सम्भावनासहित आवश्यक पूर्वाधार र व्यवस्थापनका विषयमा स्थलगत निरीक्षण गरिएको हो ।निरीक्षणमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, वडा नम्बर-६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर ९ का अध्यक्ष ध्रुव न्यौपाने, वडा नम्बर-७ का अध्यक्ष देवीप्रसाद पंगेनी, कार्यपालिका सदस्य सुरेन्द्र श्री, वडा सदस्य कमल शर्मा रेग्मी, प्रशासन प्रमुख इन्द्रदत्त सापकोटा, प्रशासकीय अधिकृत सीता घिमिरे, इन्जिनियरहरू तथा नापी र मालपोत कार्यालयका टोलीको सहभागिता रहेको थियो ।


निरीक्षणका क्रममा नगरप्रमुख खाणले तिलोत्तमावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नगरभित्रै मालपोत तथा नापीसम्बन्धी सेवा सञ्चालनको तयारी गरिएको बताउनुभयो । उहाँले वडा नम्बर-९ स्थित सभाहल क्षेत्रबाट सेवा प्रवाह गर्ने गरी आवश्यक तयारी अघि बढाइएको जानकारी दिँदै भूमि प्रशासन सेवा सुरु भएपछि  जग्गाको किनबेच, रोक्का, फुकुवा, कित्ताकाँटलगायतका कामका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।


मंगलापुर क्षेत्रबाट करिब दुई किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट सेवा सञ्चालन गर्न सके नगरवासीलाई समय र खर्च दुवैको बचत हुने अपेक्षा गरिएको छ ।नगरपालिकामै मालपोत तथा नापी कार्यालयको सेवा उपलब्ध हुने व्यवस्था मिलाउन सकिए तिलोत्तमाका नागरिकलाई जग्गा प्रशासन, नक्सा तथा अन्य सम्बन्धित कामका लागि भैरहवा र बुटवल पुग्नुपर्ने बाध्यता कम हुने देखिएको छ । यसले स्थानीयस्तरमै सरकारी सेवा प्रवाहलाई थप सहज, सरल र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ । 

कमेन्ट गर्नुहोस्