
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित बुटवल–भैरहवा सडकखण्डको मणिग्राम चोकदेखि दक्षिणतर्फ रहेको आकाशेपुलको बारमा जडान गरिएको सिसा फुटेपछि दुर्घटनाको जोखिम बढेको छ। फुटेको सिसामा आड लगाउने क्रममा एक बालक पुलबाट तल खसेपछि जोखिम न्यूनीकरणका लागि बारमा डोरी लगाइएको छ।
तिलोत्तमा गाइजको अगुवाइमा तिलोत्तमा नगर प्रहरी, स्थानीय टोलबासी तथा नगरप्रमुख रामकृष्ण खाणको उपस्थितिमा पुलको जोखिमयुक्त भागमा डोरी लगाएर अस्थायी सुरक्षा व्यवस्था गरिएको हो।तिलोत्तमा गाइजका संयोजक पुजन केसीका अनुसार फुटेको सिसाका कारण पुल प्रयोग गर्ने पैदलयात्री जोखिममा परेका छन्। यसअघि पनि उक्त पुलबाट एक व्यक्ति खसेको घटना भएको थियो। सार्वजनिक आवागमनका लागि निर्माण गरिएको आकाशेपुलमै यस्तो जोखिम देखिनुले यसको नियमित मर्मतसम्भार र सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख रामकृष्ण खाणले पुलको क्षतिग्रस्त भाग शीघ्र मर्मत गरिने बताउनुभएको छ। उहाँले सार्वजनिक स्थानमा निर्माण गरिएका संरचनाको उचित प्रयोग र संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता संरचनाको सुरक्षामा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो।
स्थानीयस्तरमा तत्काल जोखिम कम गर्न डोरी लगाइए पनि यो स्थायी समाधान भने होइन। सम्बन्धित निकायले फुटेको सिसा तथा कमजोर बनेका बारको तत्काल मर्मत गरी पैदलयात्रीको सुरक्षित आवागमन सुनिश्चित गर्न आवश्यक देखिएको छ।सार्वजनिक संरचनाको निर्माणसँगै नियमित अनुगमन, मर्मतसम्भार र संरक्षणमा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने यो घटनाले देखाएको छ।
कमेन्ट गर्नुहोस्