
शारदा शाही, बुटवल / जलवायु परिवर्तनका प्रभाव, जोखिम न्यूनीकरण तथा अनुकूलनका उपायबारे ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीमा अपाङ्गता भएका महिलाहरूका लागि एकदिने क्षमता विकास तालिम सम्पन्न भएको छ।अपाङ्गता महिला संघ–रुपन्देही (DWS–Rupandehi) को आयोजनामा ‘समावेशी जलवायु उत्थानशीलता तथा पैरवी परियोजना (Inclusive Climate Resilience and Advocacy for Women with Disabilities in Rupandehi–ICRA)’ अन्तर्गत आयोजित तालिममा २५ जना अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको थियो।
तालिमको सहजीकरण परियोजना संयोजक बसन्त भट्टले गर्नुभएको थियो। उहाँले परियोजनाको उद्देश्य, कार्यक्षेत्र, सञ्चालनका गतिविधि तथा अपेक्षित उपलब्धिबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।कार्यक्रममा संस्थाकी अध्यक्ष कल्पना ढकालले अपाङ्गता महिला संघ–रुपन्देहीको स्थापना, उद्देश्य, कार्यक्षेत्र तथा अपाङ्गता भएका महिला र अन्य सीमान्तकृत समुदायको अधिकार, सशक्तीकरण र समावेशिताका क्षेत्रमा संस्थाले गर्दै आएका गतिविधिबारे प्रकाश पार्नुभएको थियो।उहाँले जलवायु परिवर्तनबाट सिर्जित जोखिम तथा त्यसको असर न्यूनीकरणका लागि अपाङ्गता भएका महिलाहरूलाई सक्षम, सचेत र नेतृत्वदायी भूमिकामा स्थापित गर्न तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो।
तालिममा जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम, जलवायु उत्थानशीलता, विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलनका उपायबारे छलफल गरिएको थियो। साथै जलवायुजन्य विपद्का समयमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपर्ने विशेष चुनौती, पहुँचयोग्य पूर्वसूचना प्रणाली, अपाङ्गतामैत्री सुरक्षित आश्रयस्थल तथा स्थानीय तहको नीति, योजना र कार्यक्रम निर्माण प्रक्रियामा अपाङ्गता भएका महिलाहरूको अर्थपूर्ण सहभागिताका विषयमा समेत सहजीकरण गरिएको थियो।जलवायु परिवर्तनको प्रभाव महिला तथा अपाङ्गता भएका व्यक्तिहरूमा तुलनात्मक रूपमा बढी पर्न सक्ने भएकाले उनीहरूका आवश्यकता, अनुभव र अधिकारलाई जलवायु अनुकूलन तथा विपद् व्यवस्थापनका नीति र योजनामा समेट्नुपर्नेमा कार्यक्रमले जोड दिएको छ।
CBM Ireland को Funding Fairer Futures (FFF) कार्यक्रमको सहयोगमा सञ्चालित ICRA परियोजनाले रुपन्देही जिल्लामा अपाङ्गता भएका महिलाहरूको जलवायु उत्थानशीलता, नेतृत्व क्षमता तथा जलवायु न्यायसम्बन्धी पैरवीलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।परियोजनाले स्थानीय सरकार, समुदाय तथा सरोकारवालासँग सहकार्य गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण, समावेशी विपद् व्यवस्थापन र अपाङ्गता भएका महिलाहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।तालिमले अपाङ्गता भएका महिलाहरूलाई जलवायु परिवर्तनका सवालमा आफ्नो आवाज बुलन्द गर्न, अधिकारका लागि पैरवी गर्न तथा समुदायस्तरमा समावेशी र जलवायु उत्थानशील विकासका अभियानमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास लिइएको आयोजकले बताएको छ।
कमेन्ट गर्नुहोस्