लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शिक्षामा बाढीको असर : प्रभावित क्षेत्रमा पठनपाठनको समस्या

IMG

माधव अधिकारी ,काठमाडौँ।  बाढी प्रभावित क्षेत्रका सामुदायिक विद्यालय तत्काल सञ्चालनमा आउन सहज छैन । भौतिक संरचनाको क्षति, आवतजावतमा समस्या, केही विद्यार्थी, शिक्षक, अभिभावक सम्पर्कविहीन रहेको समयमा सामुदायिक विद्यालयमा पठनपाठनको वातावरण नबनेको स्थानीयको बुझाइ छ ।


नुवाकोटको विदुर नगरपालिका १ स्थित त्रिभुवन त्रिशुली माविका प्रधानाध्यापक राजेन्द्र दवाडीले बाढीले विद्यालय बगाएर लगेको बताउनुभयो । “विपद्अघि ८६ रोपनी जग्गामा १४ वटा पक्की भवन रहेको थियो । भवनको संरचना पुरै बाढीले बढारेर लगेको छ । अहिले विद्यालयको संरचना पहिचान गर्न गाह्रो छ”, प्रधानाध्यापक दवाडीले भन्नुभयो । पूर्वसूचना पाएर सुरक्षित स्थानमा स्थानान्तरण गरेका कारण विद्यार्थी सकुशल भए पनि एकजना शिक्षक र एकजना कार्यालय सहयोगी सम्पर्कविहीन हुनुभएको प्रअ दवाडीले जानकारी दिनुभयो। 


“विद्यार्थी डराएका छन् । अभिभावक चिन्तित छन् । सबैको मन आत्तिएको छ । पठनपाठन सुरु हुनुअघि मनोसामाजिक परामर्श दिनुपर्छ” उहाँले भन्नुभयो । विपद्लाई रोक्न सकिँदैन तसर्थ पूर्वसूचना प्रणाली, साइरनको व्यवस्था,रोकथाम, न्यूनीकरण गर्नुपर्ने उहाँको धारणा छ । उहाँका अनुसार विदुर नगरपालिका ९ मा अस्थायी स्थानको व्यवस्थापनपछि पठनपाठनको तयारी गरिनेछ” दवाडीको भनाइ छ । विदुर ७, तुप्चेको चण्डेश्वरी माविका प्रधानाध्यापक गणेशप्रसाद लामिछानेले एक करोड रुपियाँको लगानीमा करिब तीन रोपनी जग्गामा निर्मित विद्यालयको दृष्टिविहीन आवास ध्वस्त भएको बताउनुभयो । “अहिले त्रिशुली नदी विद्यालय भवनको पछाडिबाट बगिरहेको छ । बेत्रावती, भैँसे, किस्पाङतिरबाट आउने विद्यार्थी पहुँचबाट टाढा हुनुहुन्छ” प्रधानाध्यापक दवाडीले भन्नुभयो ।  


विदुर ५, देवीघाटस्थित शहिद जगतप्रकाशजङ्ग शाह संस्कृत माविका प्रधानाध्यापक मञ्जु चित्रकारले विद्यालयमा अध्ययनरत बाढी प्रभावित क्षेत्रका विद्यार्थीका २५० घर बाढीले बगाएर लगेको बताउनुभयो । “कतिपय बच्चाका अभिभावकको निधन भएको छ, कोही वेपत्ता हुनुहुन्छ । घरबारविहीनताको स्थिति छ । चारवटा पक्की र एउटा झोलुङ्गे पुल बाढीले बगाएपछि विद्यालय आउने बाटो बन्द भएको छ” प्रधानाध्यापक चित्रकारले भन्नुभयो । विपद्बाट सामुदायिक विद्यालय जोगाउन खोलाको नजिक विद्यालय स्थापना नगर्ने, भूकम्पप्रतिरोधी भवन निर्माण गर्नेजस्ता कुरामा ध्यान दिनुपर्ने प्रधानाध्यापक चित्रकारको सुझाव छ ।अभिभावकविहीन विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने, शैक्षिक सामग्री, शुल्क, आवासीय व्यवस्था गर्ने, मनोसामाजिक परामर्श दिने लगायकतका कार्यमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।


शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले बाढीका कारण अभिभावकविहीन विद्यार्थीलाई अरविन्द राओ आश्रम, एसओएस हर्मन माइनर स्कुल वा निजी विद्यालयले आवासीय सुविधासहित पठनपाठनको व्यवस्था मिलाएमा समस्या समाधान हुने बताउनुभयो । शिक्षाविद् डा. कोइरालाका अनुसार बाढीप्रभावित विद्यार्थीलाई आम परामर्श, सहकर्मी परामर्श र व्यक्तिगत परामर्श गरी तीन चरणको परामर्श आवश्यक हुन्छ।“बाढीबाट सिकेका कुरालाई कक्षाकोठमा शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि आर्किमिडिजको सिद्धान्त, हिमनदी के हो ? बाढी के हो ? लगायतका विषयमा कक्षामा छलफल गर्न सकिन्छ” शिक्षाविद डा. कोइरालाले भन्नुभयो ।पुरानै स्थानमा विद्यालय भवन स्थापना गर्दा फेरि बाढीले दुःख दिन सक्छ तसर्थ सुरक्षित स्थानमा विद्यालय स्थानान्तरण गर्नु उपयुक्त हुने उहाँको सुझाव छ  । “पीडासँगै पुनःस्थापना आवश्यक छ । यो बाढीले जीवन अनिश्चित छ, शोक गरेर केही हुँदैन भन्ने शिक्षा दिएको छ” उहाँले भन्नुभयो ।


भदौ १० गतेको बाढीले नुवाकोटको विदुर १०, बेत्रावतीस्थित रामचन्द्र आधारभूत विद्यालय र त्रिभुवन त्रिशुली माविको भवन बगाएको छ । त्यसैगरी विदुर ७, तुप्चेको चण्डेश्वरी मावि, देवीघाटको शहिद जगतप्रकाश मावि र रणभुवनेश्वरी मावि, तारुकास्थित सिमलटार मावि र महादेव मावि समेत बाढीबाट प्रभावित भएका छन्।

कमेन्ट गर्नुहोस्