
काठमाडौं । कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमकाे सहमतिमा उद्योगीले मिलेमताेमा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन् ।नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।कृष्णभिरमा पहिरो गएका कारण वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा महँगो पर्न गएकाले त्यसको केही भार उपभोक्ताले तिर्नुपर्ने गरी निर्णय गरिएको संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।
‘पहिला बुलेटले ग्यास ढुवानी गर्थ्यो, एक बुलेटमा १२ सय ५० सिलिन्डर ग्यास आउँथ्यो, तर तराईमा बोटलिङ गर्नुपर्दा र त्यहाँबाट अर्को माध्यमबाट ढुवानी गर्दा महँगो पर्न गयो,’ उनले भने, ‘ढुवानी भाडा नै १ सय ८० प्रतिसिलिन्डर परेकोमा त्यसमा उपभोक्तालाई १ सय ५ रुपैयाँ थप गरिएको हो ।’आयल निगमसँगको सहमति अनुसार ग्यास मूल्य बढाइएको उद्योगीको दाबी छ । उद्योगीले काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफिल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाडा बढाइएको जानकारी संघले दिएको छ ।ग्यासको खरिद दर (रेट) बढेको नभई ट्रान्सपोर्टेसन कस्ट (ढुवानी लागत) बढेका कारण उपभोक्ता मूल्यमा वृद्धि भएको नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले दाबी गरे ।
‘आयल निगमले हामीलाई काठमाडौंसम्मको भाडा नदिई तराईसम्मको मात्र भाडा दियो,’ सञ्चालक भण्डारीले अनलाइनखबरसँग भने, ‘५० किलोमिटरभन्दा बढी दुरीमा ग्यास ढुवानी गर्दा लाग्ने अतिरिक्त भाडा लिन पाउने निगमसँगकै सहमति र प्रावधानका आधारमा हामीले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ बढाएका हौं ।’उनका अनुसार उद्योगीको वास्तविक खर्च २ सय रुपैयाँभन्दा बढी लाग्छ, तर आयल निगमको प्रावधान अनुसार त्योभन्दा बढी (१ सय ५ रुपैयाँभन्दा बढी) लिन मिल्दैन । ‘त्यसैले घाटा खाएरै भए पनि हामीले ग्यास ल्याउनुपरेको छ,’ उनले भने ।
ग्यासको मूल्यमा आयल निगमको स्पष्टीकरण
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य उद्योगबाट ५० किलोमिटर दूरीसम्मका लागि मात्रै तोक्ने गरेको बताएको छ ।निगम प्रवक्ता मनोज ठाकुरले ५० किलोमिटरभन्दा बढी दुरीमा ग्यास ढुवानी गर्दा उद्योगीहरूले आफैं ढुवानी भाडा जोडेर लिन पाउने व्यवस्था रहेको बताए ।‘निगमले तोक्ने मूल्य भनेको उद्योगदेखि ५० किलोमिटर दुरीसम्मका लागि हो, त्योभन्दा उताका हकमा भने उनीहरू (उद्योगी) ले ढुवानी भाडा जोडेर लिन पाउँछन्,’ ठाकुरले भने ।ग्यास उद्योगीले निगमको सहमतिविनै आफूखुसी ढुवानी भाडा बढाएको हो कि भन्ने प्रश्नमा ठाकुरले यो कुनै नयाँ विषय नभई विगतदेखि नै चल्दै आएको व्यवस्था भएको दाबी गरे ।‘यो कुनै नयाँ व्यवस्था होइन, विगतदेखि नै यही नियम छ,’ ठाकुरले भने, ‘जहाँ पनि यही व्यवस्था लागु हुन्छ, जस्तो कि, विराटनगरको उद्योगले ५० किलोमिटरभन्दा बढी दुरीमा ग्यास बाहिर पठायो भने त्यो ढुवानी भाडा जोडेरै लिन्छन्, ढुवानी भाडा चाहिँ उनीहरूले लिन पाउँछन् ।’
कमेन्ट गर्नुहोस्