
काठमाण्डौ – नेपालले भोगेको विपद् र क्षतिमा अति कम विकसित देशहरुको समूह (एलडीसी) ले ऐक्यबद्धता जनाउँदै हानि–नोक्सानीबापत क्षतिपूर्ति दिन माग गरेको छ ।अति कम विकसित ४४ देशहरुको समूह एलडीसीले भोटेकोशी बाढीप्रति धनी र विकसित देशहरुको ध्यानाकर्षणसहित नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो । एलडीसी समूहले जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी र चट्टान खसेर आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
पूर्वी टिमोरको डिलीमा आयोजित एलडीसी समूहका मन्त्रीस्तरीय बैठकपछिको संयुक्त घोषणापत्रमा भोटेकोशी विपद्को उल्लेख गरी जलवायु संकटका कारण साना तथा जोखिमयुक्त देशहरूले अप्रत्याशित क्षति भोग्नुपरेको विषय समेटिएको छ । २६ बुँदासहितको घोषणापत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड दिएको छ ।विकसित तथा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न तत्काल उत्सर्जन कटौती गर्नुपर्नेमा अति कम विकसित देशहरुको जोड छ । साथै, पेरिस सम्झौता अनुरूप अल्पविकसित देशहरूलाई अनुकूलन, प्रविधि हस्तान्तरण तथा जलवायु वित्तमा प्रत्यक्ष र सहज पहुँच उपलब्ध गराउन आग्रह गरिएको छ ।
जलवायुजन्य विपद्का कारण एलडीसी राष्ट्रहरूमा भइरहेको ठूलो हानि र नोक्सानीको परिपूरणका लागि एउटा छुट्टै ‘नोक्सानी तथा क्षति न्यायाधिकरण’ स्थापनाको सम्भावनावारे अध्ययन गर्न कानुनी विज्ञहरूको टोली गठन गर्नेसमेत घोषणापत्रमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्