
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी भगवती रथ जात्राले राष्ट्रिय स्वाभिमान, वीरता, धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको बताएका छन् ।भगवती रथ जात्राको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन जात्रा मनाइने उल्लेख गरेका हुन ।
कर्णेल उजिरसिंह थापाको नेतृत्वमा प्राप्त ऐतिहासिक विजयको स्मरणमा महिषासुरमर्दिनी भगवतीको मन्दिर निर्माण गरी रथ जात्रा निकाल्ने परम्परा सुरु भएको उल्लेख गर्दै उनले जात्राले नेपालको वीरता र राष्ट्रिय गौरवको इतिहासलाई पुस्तौँदेखि जीवन्त राखेको बताए ।मुख्यमन्त्री आचार्यले भगवती जात्राले धार्मिक आस्था, सांस्कृतिक विविधता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । पुस्तौँदेखि निरन्तर चलिआएको यस्तो मौलिक परम्पराले नयाँ पुस्तामा संस्कृति, रीतिरिवाज र मूल्य–मान्यता हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
मौलिक सम्पदाको संरक्षण र प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्ता सांस्कृतिक पर्वले रोजगारी सिर्जना र पर्यटन विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरे ।मनसुनको प्रभाव कायमै रहेकाले जात्रामा सहभागी हुने श्रद्धालु तथा सर्वसाधारणलाई मौसम र स्थानीय अवस्थाबारे जानकारी लिएर सुरक्षित यात्रा गर्न उनले आग्रह गरे । वर्षा, सडक आवागमनमा कठिनाइ तथा विपद्को जोखिम हुन सक्ने भएकाले जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउनसमेत उनले अनुरोध गरे । उनले भगवती रथ जात्राले राष्ट्रिय गौरव, आपसी सद्भाव, सामाजिक एकता र समृद्धिको भावना अझ सुदृढ बनाउन योगदान पु¥याउने विश्वाससमेत व्यक्त गरेका हुन ।
कमेन्ट गर्नुहोस्