लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धान रोपाइँको मुखमा मल अभाव हुँदा किसान चिन्तित

IMG

भैरहवा, जेठ १९ गते । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै लुम्बिनी प्रदेशमा रासायनिक मलको माग ह्वात्तै बढेको छ । किसानको आवश्यकता अनुसार मल उपलब्ध हुन नसक्दा प्रदेशभरका किसान चिन्तित छन् । सरकारी तथ्याङ्कले नै मलको माग र आपूर्तिबिच ठुलो अन्तर देखाएको छ ।


कृषि सामग्री कम्पनी लिमिटेडको भैरहवास्थित प्रादेशिक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हालसम्म प्रदेशका ११ जिल्लामा ५२ हजार ९०३ मेट्रिक टन युरिया र २३ हजार ६९६ मेट्रिक टन डिएपी मल आपूर्ति गरिएको छ । पोटास मल भने सहकारी तथा स्थानीय मागका आधारमा वितरण भइरहेको कार्यालयले जनाएको छ । जिल्लागत रूपमा हेर्दा रुपन्देहीमा सबैभन्दा बढी १८ हजार ५२२ मेट्रिक टन मल पठाइएको छ । त्यसपछि दाङमा १३ हजार ८९२, कपिलवस्तुमा १३ हजार २८७, बर्दियामा नौ हजार ९०५ र पश्चिम नवलपरासीमा सात हजार ८४८ मेट्रिक टन मल आपूर्ति गरिएको छ । पाल्पामा भने सबैभन्दा कम एक हजार ८०६ मेट्रिक टन मल पुगेको छ ।


कृषि सामग्री कम्पनीकी प्रदेश प्रमुख सुमन पन्थीका अनुसार खेतीको मुख्य सिजनमा मलको माग अत्यधिक बढ्ने भए पनि आपूर्ति सोही अनुपातमा हुन नसक्दा समस्या दोहोरिने गरेको छ । उहाँले हाल कार्यालयमा करिब पाँच हजार मेट्रिक टन मल मौज्दात रहे पनि त्यो किसानको आवश्यकताका तुलनामा निकै कम रहेको बताउनुभयो ।


प्रदेश सरकारले सङ्घीय सरकारसँग थप मल उपलब्ध गराउन पटक पटक आग्रह गरे पनि माग अनुसार आपूर्ति हुन नसकेको जनाइएको छ । गत आव २०८१÷८२ का लागि प्रदेशले एक लाख मेट्रिक टन डिएपी, एक लाख सात हजार पाँच सय मेट्रिक टन युरिया र चार हजार पाँच सय मेट्रिक टन पोटासको माग गरेको थियो । वितरण भने युरिया ४३ हजार ६६६.२ मेट्रिक टन, डिएपी २७ हजार २७६ मेट्रिक टन र पोटास दुई हजार ५४१ मेट्रिक टनमा सीमित भएको थियो । रुकुमपूर्वबाहेक लुम्बिनी प्रदेशका सबै जिल्लामा रासायनिक मल वितरण गरिँदै आएको छ । रुकुमपूर्वलाई प्रदेश सरकारले अर्गानिक जिल्ला घोषणा गरेकाले त्यहाँ रासायनिक मल आपूर्ति गरिँदैन ।

कमेन्ट गर्नुहोस्