
डिङ्गरनगर। तिलोत्तमा नगरपालिका वडा नं. ४ मा आदिबासी जनजाती महिलाहरूको सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा सृजनात्मक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ५ दिने बुके बनाउने तालिम सम्पन्न भएको छ। बहूदेश्यिय सामुदायिक भवन तिलोत्तमा नगरपालिका वडा नं. ४ मा सम्पन्न तालिमले सहभागीहरूलाई विभिन्न अवसर तथा कार्यक्रमका लागि आकर्षक मायाको चिनो र फूल बुकी तयार गर्ने व्यावहारिक सीप प्रदान गरेको आयोजकले जनाएको छ।
तालिम समापन कार्यक्रममा वडा अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षता रहेको थियो भने तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष हरिबहादुर क्षेत्री विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।कार्यक्रममा वडा सदस्य मित्रलाल न्यौपाने, रम्भा धिमिरे, हरिमाया नेपाली तथा गोविन्द श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न र साना उद्यममार्फत आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।
तालिममा प्रशिक्षक सीता मल्लले विभिन्न प्रकारका सजावटी सामग्री तथा फूल बुके निर्माण सम्बन्धी व्यावहारिक प्रशिक्षण दिनुभएको थियो। कार्यक्रम, सम्मान समारोह, विवाह, जन्मोत्सव तथा अन्य विशेष अवसरमा प्रयोग हुने आकर्षक र सिर्जनात्मक सामग्री तयार गर्ने सीप सहभागीहरूलाई सिकाइएको थियो।प्रमुख अतिथि उपप्रमुख जगेश्वर देवी चौधरीले महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि सीपमूलक कार्यक्रम आवश्यक रहेको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोड्न आग्रह गर्नुभयो। उहाँले नगरपालिकाले महिलाको क्षमता विकास र उद्यमशीलता प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
विशिष्ट अतिथि हरिबहादुर क्षेत्रीले तालिमबाट प्राप्त ज्ञान र सीपले सहभागीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहमा उपलब्ध अवसरहरूको सदुपयोग गर्दै सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गर्नुभयो।कार्यक्रममा वडा सदस्य मित्रलाल न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्दै तालिमले सहभागीहरूमा सिर्जनशीलता, आत्मविश्वास र उद्यमशील सोचको विकास गरेको बताउनुभयो।
कार्यक्रमको सञ्चालन वडा सचिव काशीराम ज्ञवालीले गर्नुभएको थियो। तालिम सफलतापूर्वक सम्पन्न भएपछि सबै सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रमाणपत्र ग्रहण गर्दै सहभागीहरूले तालिमबाट उपयोगी सीप हासिल गरेको र आगामी दिनमा त्यसलाई व्यवहारमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।स्थानीय महिलाहरूको क्षमता विकास, सीप अभिवृद्धि तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम उपलब्धिमूलक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कमेन्ट गर्नुहोस्