लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गर्मी छल्न अर्घाखाँचीको नरपानीडाँडा

IMG

अर्घाखाँची, जेठ १९ गते । तराईमा अत्यधिक गर्मी बढेपछि गर्मी छल्न अर्घाखाँचीको नरपानी–सुपा देउराली क्षेत्रमा मानिस ओइरिन थालेका छन्  । शीतल हावापानी, प्राकृतिक सौन्दर्य भएका कारण यहाँ स्वदेशी तथा भारतीय पर्यटकको उल्लेख्य भिड देखिएको छ ।


पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गेबाट करिब ५८ किलोमिटर दुरीमा रहेको नरपानीडाँडा गर्मीयाममा चिसो वातावरणका लागि परिचित छ । तराईका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती सहरबाट दैनिक सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् । 


हरियाली पर्वतको मनोरम दृश्य र शीतल हावाको आनन्द लिन आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । गर्मी छल्न आउने अधिकांश पर्यटक परिवार तथा साथीभाइको समूहमा पुग्ने गरेका छन् । सुपा देउराली नरपानी रिसोर्टका सञ्चालक पदम केसीका अनुसार रिसोर्टका २० वटा कोठा एक साताअगाडिदेखि नै बुकिङ हुने गरेका छन् ।  भारतको सिद्धार्थनगरबाट परिवारसहित आएका पुरन महतोले भन्नुभयो, “सुन्दर पहाड, चिसो हावा, प्राकृतिक दृश्य र स्थानीय खानाको स्वादले निकै आनन्द दियो ।” उहाँले फेरि अर्काे दिन पनि साथीभाइसँग नरपानी आउने योजना बनाएको बताउनुभयो ।


नेपाल–भारत सीमा कृष्णनगरबाट नरपानी पुग्न सहज भएकाले भारतीय पर्यटकको आकर्षण बर्सेनि बढ्दै गएको छ । गर्मीयाममा नरपानी र सुपा देउराली क्षेत्रका होटेल तथा रिसोर्ट भारतीय पर्यटकले भरिने गरेका छन् । यहाँ आउने पर्यटकले स्थानीय परिकार विशेष रुचिका साथ खाने गरेको कुरा होटेल व्यवसायीले बताएका छन् ।पर्यटकको बढ्दो आगमनलाई हेरेर नरपानीदेखि करिब दुई किलोमिटर दुरीमा रहेको पोखेडाँडामा ४० भन्दा बढी होमस्टे सञ्चालनमा आएका छन् । सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष श्रीधर महत्रा क्षेत्रीले गाउँले परिवेशमा बस्न चाहने पर्यटकका लागि होमस्टे प्रभावकारी विकल्प बनेको बताउनुभयो । सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले नरपानीको पर्यटन प्रवर्धनसँगै स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले पूर्वाधार विकासका काम अघि बढाइएको बताउनुभयो । 


सन्धिखर्क नगरपालिका–७, नरपानीका वडाध्यक्ष चुरा केसीले नरपानी क्षेत्रमा रहेका करिब एक सय होटेल अहिले कुनै खाली नहुने गरेको बताउनुभयो । तराई र भारतको चर्को गर्मीबाट राहत खोज्नेका लागि अर्घाखाँचीको नरपानी शीतल आश्रयस्थल बन्दै गएको उहाँले बताउनुभयो ।    

कमेन्ट गर्नुहोस्