
तनहुँ, जेठ १८ गते । तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दुध बिक्रीबाट मात्रै मासिक करिब दुई करोड रुपियाँ आम्दानी गर्ने गरेका छन् ।
२६ औँ विश्व दुग्ध दिवसको सन्दर्भमा संस्थाले दिएको जानकारी अनुसार यहाँका किसानहरूले गत एक वर्षको अवधिमा २३ करोड रुपियाँ बराबरको दुध बिक्री गरेका छन् । संस्थाका व्यवस्थापक राजु भुजेलका अनुसार सहकारी मार्फत दैनिक आठ हजार लिटर भन्दा बढी दुग्ध सङ्कलन र बिक्री हुँदै आएको छ ।यहाँ सङ्कलन हुने अधिकांश दुग्ध सुजल डेरी मार्फत पोखरा निर्यात हुने गरेको व्यवस्थापक भुजेलले जानकारी दिनुभयो ।
सहकारीले गत वर्ष मात्रै १९ लाख लिटर दुध बिक्री गरी २३ करोड रुपियाँ आम्दानी गर्न सफल भएको थियो । संस्थाका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार यस जिल्लास्तरीय सहकारी संस्थासँग जिल्लाका अन्य १८ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरू आबद्ध रहेका छन्।
यस सञ्जालमा हाल एक हजार ५०० जना व्यावसायिक किसानहरू प्रत्यक्ष रूपमा जोडिएर व्यावसायिक दुध उत्पादनमा लागेका छन् ।गाउँगाउँमा गठन भएका सहकारीहरू मार्फत सङ्कलित दुग्ध सहजै बजार गइरहेकाले किसानहरू पशुपालनतर्फ थप उत्साहित भएका छन् ।
दुध बिक्रीबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै किसानहरूको आर्थिक जीवनस्तरमा समेत ठुलो परिवर्तन आएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
दानाको मूल्य बढ्ने तथा समयमा किसानले भुक्तानी नपाउँने जस्ता समस्या रहेकोले सो समस्या समाधानका लागि सरकारले पहल कदमी गर्नु पर्ने सापकोटा बताउनुहुन्छ ।
कमेन्ट गर्नुहोस्