लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा एमालेका ४ मन्त्रीले राजीनामा दिंदै, पालैपालो मन्त्री खाने आइडिया

IMG

तिलोत्तमा। लुम्बिनी प्रदेश सरकारका एमालेका चार जना मन्त्रीले मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि राजीनामा बुझाउने तयारी गरेका छन् ।एमालेले नयाँ मन्त्रीका लागि डिल्लीराज भुसाल, रामजी घिमिरे, तुलसीप्रसाद चौधरी र रत्न खत्रीको नाम सिफारिस गरेको छ ।मुख्यमन्त्री आचार्यले आगामी असार १ गते बजेट ल्याएपछि मात्रै सरकारको नेतृत्व छाड्ने अडान लिएका छन् ।समय सकिन केहि महिना मात्रै बाँकी छदा मुख्यमन्त्रीले यस्तो निर्णय लिएका हुन्। 


लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्री फेरिने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन् ।मुख्यमन्त्री आचार्यको सचिवालय स्रोतका अनुसार निर्देशन अनुसार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउने तयारी गरेका छन् ।


कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो।यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि मन्त्री हेरफेर रोकिएको थियो ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।एमाले स्रोतका अनुसार मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ । खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि पालो कुर्ने नयाँ अनुहार हुन् ।


एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको छ । सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरी सिफारिसमा परेका हुन् । प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले डिल्लीराज भुसाललाई पनि मन्त्रीका लागि अघि सारिएको छ ।प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय गरिसकेको छ । उक्त विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ।कांग्रेसले सरकारको नेतृत्व परिवर्तनको दवाव दिइरहेको भएपनि मुख्यमन्त्री आचार्यले बजेट ल्याएपछि अर्थात् असार १ गतेपछि मात्रै नेतृत्व छाड्ने अडान लिएका छन् । नेपाली कांग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागेको छैन ।

कमेन्ट गर्नुहोस्