लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निस्दीमा कक्षा १२ उत्तीर्ण र २० वर्षपछि विवाह गर्ने महिलालाई सम्मान

IMG

रामपुर (पाल्पा), जेठ १७ गते । पाल्पाको निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने महिलालाई नगदसहित सम्मान गरेको छ। बालविवाह अन्त्य गर्दै बालमैत्री स्थानीय शासन लागू गर्ने अभियानअन्तर्गत गाउँपालिकाले २७ जना महिलालाई सम्मान गरेको हो।


गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने, कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि एक वर्षभित्र विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरूप सम्मान गरिएको हो। आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा उनीहरूलाई ५ हजार रुपियाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।


त्यसैगरी, आधारभूत तह, एसइई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पनि नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ। साथै, अघिल्लो वर्ष स्नातकोत्तर तह उत्तीर्ण गर्ने एक जना महिलालाई पनि नगदसहित सम्मान गरिएको थियो।


गाउँपालिकाले २०८२ जेठ १ देखि २०८३ वैशाख ३१ सम्म कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पूरा भएपछि विवाह गर्ने महिलाहरूको विवरण वडा कार्यालयमार्फत नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रसहित माग गरेको थियो।


कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रा गहतराजले बालविवाह न्यूनीकरणसँगै महिलालाई शिक्षामा आकर्षित गर्न कार्यक्रमले महत्वपूर्ण योगदान दिएको बताउनुभयो। उहाँले महिलालाई उद्यमसँग जोड्न सके कार्यक्रम अझ प्रभावकारी हुने धारणा राख्नुभयो।


गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले महिलालाई शिक्षा र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार बालविवाह न्यूनीकरण अभियानसँगै २०७९ सालसम्म २७६ जोडी बालविवाह रहेकोमा चालु आर्थिक वर्षमा सात जोडीमा झरेको छ।


गाउँपालिकालाई २०८३ भित्र बालमैत्री स्थानीय शासन लागू भएको पालिका घोषणा गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले बताउनुभयो।


गाउँपालिका प्रवक्ता मेखबहादुर सुनारीले बालविवाह न्यूनीकरणसँगै महिलालाई शिक्षातर्फ प्रेरित गर्न प्रोत्साहन कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। महिला विकास शाखा प्रमुख तथा बालकल्याण अधिकारी कुसुमाकर पाण्डेले यस्तो कार्यक्रमले बालविवाह घटाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।


कार्यक्रममा निस्दी गाउँपालिकामा दर्ता भई उद्यम विकासमा सक्रिय गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थालाई पनि नगदसहित सम्मान गरिएको निस्दी गाउँपालिका स्तरीय महिला समन्वय समितिकी अध्यक्ष पुष्पा सारुले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्