
काठमाडौँ, वैशाख २१ गते । काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भएको हो । केही बाँकी निर्माणका काम सकेर आयोजनलाई सञ्चालनका लागि हस्तान्तरण गर्ने तयारी भएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरुङमार्ग सञ्चालन गर्न पाँच वर्षका लागि चिनियाँ कम्पनी युसिन–एआरटी जेभीलाई ५ वर्षका लागि दिइएको छ । सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले गरेको सुरुङमार्गको अनुगमनका क्रममा निर्देशक नेपालले सुरुङमार्गका भौतिक प्रगतिका बारेमा सांसदलाई जानकारी गराउनुभएको थियो । सो क्रममा नेपालले सुरुङमार्ग निर्माणमा केही ढिलाई भएको बताउनुभयो ।
४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना समय लागेको उहाँको भनाइ छ । उहाँका अनुसार २०१९ सेप्टेम्बर २३ बाट सुरु भएको परियोजना २०२६ अप्रिल २५ सम्म म्याद थप गरिएको थियो । करिब २२ अर्ब रुपियाँ लागत अनुमान गरिएको यस आयोजनामा १६ अर्ब रुपियाँ निर्माण कार्यमा र ६ अर्ब रुपियाँ जग्गा अधिग्रहणमा खर्च भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ । सुरुङमार्ग अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको उहाँले जानकारी दिनुभयो । सुरुङमार्गभित्र अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ । पावर सप्लाइ, स्मार्ट लाइटिङ, सिसी टिभी निगरानी, रिमोट मोनिटरिङ तथा कन्ट्रोल सिस्टम, भेन्टिलेसन प्रणाली (सवारी चाप अनुसार स्वचालित) र आधुनिक फायर फाइटिङ प्रणाली जडान गरिएको उहाँले जानकारी दिनुभयो ।
साथै आपतकालीन अवस्थामा सूचना दिन ‘भेरिएबल म्यासेज साइन’, ट्राफिक सिग्नल तथा कन्ट्रोल रुमबाट प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको छ ।
उहाँले भन्नुभयो, “हाम्रो करिव २२ अर्बको आयोजना हो । २२ अर्बमध्ये १६ अर्ब चाहिँ कन्स्ट्रक्सन कस्ट र ६ अर्ब चाहीँ ल्यान्ड एक्विजिसनमा खर्च भएको छ । अहिलेसम्म करिब ९९ प्रतिशत नै फिजिकल प्रोग्रेस भनौँ, अब यो पनि लगभग सम्पन्न नै भइसकेको छ । केही सामान्य माइनर आउटस्ट्यान्डिङ वक्र्सहरू मात्रै बाँकी रहेको छ भने वित्तीय प्रगति हामी अहिले ९६ प्रतिशतमा छौँ । सुरुङ मार्गभित्र जडान भएका अत्याधुनिक प्रविधिका सुविधा छन् । पावर सप्लाइ सिस्टमहरू, लाइटिङ सिस्टम, यो आधुनिक सुरुङ मार्गहरूमा सुरक्षित तरिकाले आवागमन सञ्चालन गर्नलाई जे जे आवश्यक पर्छ, त्यो सबै नागढुङ्गा सुरुङ मार्गमा जडान भएका छन् । इमर्जेन्सी प्रयोजनका लागि रोड सिग्नल, भेरिएबल म्यासेज साइन, कन्ट्रोल रुमबाट म्यासेजहरू पठाउन मिल्ने, केही भयो भने सिसी टिभीबाट मनिटरिङ गर्न सकिने सुविधा, रिमोट मनिटरिङ एन्ड कन्ट्रोल सिस्टम, भेन्टिलेसन सिस्टम, सवारी साधनको चाप अनुसार भेन्टिलेसन फ्यानको गति अटोमेटिक एडजस्ट हुने खालको भेन्टिलेसन सिस्टमहरू जडान भएको छ भने अत्याधुनिक किसिमको फायर फाइटिङ सिस्टमहरू जडान भएको छ ।”
कुल २ दशमलव ६८८ किलोमिटर लम्बाइको यस सुरुङ मार्गमा दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङमार्ग सवारी साधन आवतजावतका लागि प्रयोग हुने छ भने अर्को सुरुङ आपत्कालीन उद्धार तथा सुरक्षा प्रयोजनका लागि निर्माण गरिएको हो ।
यी दुई सुरुङलाई हरेक ३७५ मिटरमा आपसमा जोड्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसले आकस्मिक अवस्थामा सुरक्षित निकासको सुविधा प्रदान गर्ने छ ।
उहाँका अनुसार मुख्य सुरुङमार्ग ११ मिटर चौडा रहेको छ, जसमा विपरीत दिशातर्फ चल्ने सवारीका लागि ३.५–३.५ मिटरका दुई लेन र बिचमा करिब १.५ मिटरको दूरी छुट्याइएको छ । आपत्कालीन सुरुङमार्गको लम्बाइ करिब २.५ किलोमिटर रहेको छ भने यसको चौडाइ र उचाइ मुख्य सुरुङभन्दा कम छ ।
यो सुरुङ आपतकालीन अवस्था मात्र प्रयोग गरिने उहाँले बताउनुभयो । जापानको हाजमा आन्दो कर्पोरेसनले सुरुङ निर्माणको कार्य गरेको हो भने निप्पोन कोइ, जीइओ रिसर्च र नेपाली परामर्शदाता संस्थाहरूको संयुक्त रुपमा सुरुङमार्गको डिजाइन तथा सुपरभिजन गरेका थिए ।
कमेन्ट गर्नुहोस्