लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतीय फूलमाला भित्रिनाले अघिल्लो बर्षपनि मारमा पर्यौ : फुल कृषक भण्डारी

IMG

तिलोत्तमा, ९ कार्तिक २०८१। हरेक वर्षको तिहारमा सबैभन्दा बढी फूलमालाको खपत हुने गर्दछ । यस वर्षको तिहार नजिकिँएसँगै व्यापारीहरु फूलमालाको जोहोमा लागेका छन् । कृषकहरु पनि उत्पादन बजारमा पठाउन तयारी अवस्थामा छन् । तर, भारतबाट फूलमाला भित्रियो भने मुल्य नपाउने चिन्ता उत्तिकै छ । 


रुपन्देहीको तिलोत्तमा-२ शंकरनगर तपाहमा फूल खेती गर्दै आएका तिलोत्तमा एग्रो जोनका संचालक इश्वरी भण्डारीले हरेक वर्ष भारतीय फूलमाला भित्रिदा मुल्य नपाउने गुनासो गरे। यस वर्ष पनि भारतीय फूलमाला भित्रिने हो भने उनीहरुको उत्पादनले मुल्य पाउने छैन । गत वर्ष पनि लक्ष्मी पूजाको दिनदेखिनै भारतीय सीमाबाट करोडौंको अवैध फूलमाला भित्रिँदा नेपाली कृषकले न्युनतम दरमा पनि बिक्री गर्न नसकेको गुनासो गरे । करिब १२ कट्ठा जमिनमा शुरु गरेको फुलखेती तयार भएका छन् । यस वर्ष पनि करिब ५ हजार फूलमाला बिक्री गर्ने लक्ष्य रहेको भण्डारीले बताए।


तिलोत्तमा एग्रो जोनमा कृषक इश्वरी भण्डारीले लगाएको सयपत्री फूल बिक्रीका लागि तयार भएको हो । उनले आफ्नो कृषि फर्ममा अन्य बाली बिऊ बिजन हटाएर दशैँ र तिहारलाई भनेर धेरैजसो ठाउँमा सयपत्री फूलखेती शुरु गरिएको बताएका छन् । आफैले फूलको बिरुवा उमारी सो फर्ममा १० हजार बिरुवा रोपिएका थिए ।‘सयपत्री फूल फुलेपछि टिप्न थालिएको छ । अहिले फुलेको सयपत्री मङ्सिरसम्म टिप्न सकिन्छ’, उनले भने। सयपत्री फूल अहिले प्रतिकिलो दुई सय रुपैयाँका दरले बिक्री भइरहेको छ । एउटा माला १०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यस वर्ष १० लाख रुपैयाँको फूल बिक्री हुने अनुमान गरिएको छ । 


स्थानीय स्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड बढेकोले फुलको माग ह्वात्तै बढेको उनले बताए। उनले भने, अहिले यस क्षेत्रभित्र हुने धेरैजसो कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गरिसकेका छन् भने नगरपालिका वरिपरी मेरो जस्तै कृषि फर्ममा यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याइएको छ यसले हामीलाई थप उत्साहित बनाएको छ। फुल खेतीमा संलग्न महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अझै प्रभावकारी बनाउन घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न समेत सकिएको उनको भनाइ छ ।  


यहाँ फूलखेती शुरु गरिएपछि बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने तिलोत्तमा एग्रो जोनका संचालक इश्वरी भण्डारीले बताएका छन्। यस्तै घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई फुल लगाउन , गोड्न, टिप्न लगाई सो पेशामा आबद्ध गराई फूलखेती थालिएको उनले बताए । कृषक भण्डारी जो वैदेशिक रोजगारीबाट फर्किएर इन्टरनेटको माध्यमले अध्ययन गरेर गँड्यौला मल समेत उत्पादन गर्ने सिप सिकेका थिए। इन्टरनेटको सदुपयोग गरेर नर्सरी तथा गँड्यौला उत्पादन गरेका उनलाई अहिले बजारमा गँड्यौला र मल पुर्‍याउन भ्याइनभ्याइ छ र यसबाट वार्षिक ८ लाख रुपैयाँ कमाइ भइरहेको उनी बताउँछन्। अहिले उनले ४५ कट्ठा जमिनमा सयपत्री फुलको व्यवसायीक खेती सुरु गरेका छन्। 


फ्लोरिकल्चर एसोसिएसनले यसपालीको तिहारमा देशभर ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान गरेको छ । सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान गरिएको हो । एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारबेला प्रत्येक वर्ष फूल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताउछन् । यसबर्ष ४५ लाख माला खपत हुने उल्लेख गर्दै उनले तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।


कमेन्ट गर्नुहोस्