लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मेली समाज जापानद्बारा गुल्मिका ७० अग्निपीडितलाई आर्थिक सहयोग

tillotmacitynews - 2024 Jun 24 12:46 PM
IMG

तिलोत्तमा सिटी,२०८१ असार १० / / गुल्मेली समाज जापानले गुल्मीका ७० घर अग्निपीडितलाई सात लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गत बैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई नगद १० हजारका दरले सहयोग गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिनुभयो । 


आगलागीबाट जिल्लामा सबैभन्दा बढी  प्रभावित इस्मा गाउँपालिकाका २८ घरपरिवार, मदाने गाउँपालिका दश घरपरिवार, मुसिकोट नगरपालिकाका ८ घरपरिवार, रुरुक्षेत्र गाउँपालिकाका ७ घरपरिवार, गुल्मीदरबार गाउँपालिकाका पाँच घर परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो । 


त्यसैगरी धुर्कोट गाउँपालिकाका पाँच घर परिवार, रेसुङ्गा नगरपालिकाका दुई घर परिवार, छत्रकोट गाउँपालिकाका दुई घर परिवार, मालिका गाउँपालिकाका दुई घर परिवार र कालीगण्डकी गाउँपालिकाका एक घर परिवार गरी कुल ७० घर परिवारलाई नगद दश–दश हजार रुपियाँका दरले अग्निपीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।


समाजले अग्निपीडितको सहयोगका लागि जापानमा सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सङ्कलित रकम गुल्मीका पत्रकार जनार्दन घिमिरेको नेतृत्वमा विभिन्न पालिकाका पीडितसमक्ष लगिएको छ । केही स्थानमा आफै पुगेर र केही स्थानमा जनप्रतिनिधीमार्फत सहयोग पठाइएको घिमिरेले जानकारी दिनुभयो। गुल्मेली समाज जापानले जिल्लामा बाढी, पहिरो, आगलागी, गम्भीर प्रकारका रोग र कोभिडलगायतका विपत्तिमा सहयोग र सहजीकरण गरिरहेको छ ।


समाज जापानले पठाएको उक्त रकम पालिकाका प्रमुख, उपप्रमुख एवं वडाध्यक्षहरुको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

कमेन्ट गर्नुहोस्