लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पर्यटक पर्खिंदै चुलीडांडा:हिमालको दृश्य अझै मनमोहक

IMG

तिलोत्तमा,२०८१ बैशाख १९ गते। आकर्षक पर्यटकीय संरचनाले भरिभराउ पाल्पाको ढोलीमारा चुलीडांडा क्षेत्र थप पर्यटकको पर्खाईमा छ । लुम्बिनी प्रदेशको बुटवल बजार देखि ६५ किलोमिटर पूर्वीपाल्पा सिमानामा रहेको सो पर्यटकिय क्षेत्र सिद्धार्थ राजमार्गअन्तर्गत तानसेनदेखि ३६ किलोमिटर पूर्वतर्फ जल्पाको चुलीडांडा पर्दछ । आन्तरिक तथा बाह्य पर्यटकका लागि यस क्षेत्रको प्रमुख आकर्षण बनेको चुलीडांडाले नेपालभरमा बनको जगेर्ना गर्दै कबुलियती बन राष्ट्रिय पुरष्कारमा प्रथम समेत भएको थियो। 


जल्पादेखी करिव ४ हजार मिटर माथी हिल स्टेसनमा रहेको चुलीडांडा पर्यटकिय क्षेत्रमा करिव ६ तल्लाको भ्युटावर, पिकनिक स्पोट, लायन पार्क, वृक्षारोपण गरिएका थरिथरिका फलफुल,आकर्षक फुलबारी उद्दान, रमणिय अम्रिशो खेती, किवी खेतीसंगै नजिकै रहेको ३७ घरको अपनत्त्व रहेको ढोलीमारा होमस्टे, पूर्व उत्तरमा देखिने गणेश हिमाल, र माछापुच्छ्रेको मनमोहक तस्बीरले जो कसैको मन छुन्छ। नेपाल सरकारका करिव ३० हेक्टर रोपनी जग्गा कबुलियत बनको रुपमा स्थानियहरुले प्रयोग गरिरहेको सो स्थानमा रहेको बनमा काफल, आँप, सुन्तला, नासपाती पनि लगाइएको छ। यो बर्ष मात्रै शुरु गरिएको किवी खेतीले साढे ४ लाखको बिक्रि गरिसकिएको छ भने गतबर्ष अम्रिशोबाट १५ लाख बढीको कुचो बेचिएको समितिका अध्यक्ष पहलसिंह घर्तीको भनाई छ। 


पूर्वमा: ज्यामिरे, निस्दी गाउँपालिका,पश्चिममा झडेवा, माथागढी गाउँपालिका,उत्तर देवीनगर, रिङ्गनेरह पूर्वखोला र दक्षिणमा बहादुरपुर, माथागढी गाउँपालिका रहेको सो स्थानमा जल्पा, ढोलीमारा, चुलिंडाँडासंगै मादले गुफां,खाँणदेवी गुफा,ढोलीमारा मैदान अम्रिसो खेति,ढोलीमारा होमस्टे,सत्यकोट पर्यटकीय स्थल,किवी पकेट क्षेत्र,जल्पा खेल मैदान सत्यकोल (निर्माणाधीन) र कृषितर्फ बेमौसमी कृषि उत्पादन क्षेत्र र मैदान बाख्रा पकेट क्षेत्र समेत रहेको छ। पर्यटकको आगमनले केहि आम्दानीको स्रोत समेत बनेको होमस्टेका सचिव मन बहादुर ठाडा मगरले बताउनुभयो। 


ढकमक्क पहाडले ढाकिएको गाउँमा गर्मीमा पनि चिसो अनुभव हुन्छ। त्यसो त ढोलीमारा होमस्टेको स्वागतले अझ पर्यटक खुसी भएको होमस्टे संचालक समितिका मन बहादुर ठाडा मगरले बताए। पूर्व खोला गाउँपालिकाले पनि यसका लागि गाउँसभाबाट बजेट विनियोजन गरी पर्यटनसम्बन्धी कार्यक्रमलाई अघि सारेको छ । यहाँका केही प्रमुख प्राकृतिक तथा मानवनिर्मित पर्यटकीय संरचनाको परिचय यहाँ प्रस्तुत गरिएको छ । ढोलीमारा होमस्टेमा करिव १२ वटा घर छन् पाहुनाको स्वागतका लागि स्वागत कार्यक्रम स्थल, सुविधा सम्पन्न शयनकक्ष, बाथरुम, अतिथि कक्ष, र घरमै आरामदायी रुपमा बस्ने घर छन्। त्यो संगै पार्कमा वर्षभरि मौसमअनुसारका दर्जनौँ फूल ढकमक्क पुलेको देख्न पाइन्छ । 


पाल्पाको पूर्वखोला गाउँपालिकाले पार्कलाई गाउँको गौरवको योजनाका रुपमा प्राथमिकतामा राखेको छ । पालिकाका अध्यक्ष नुन बहादुर थापाले पूर्वखोला चुलीडांडाका लागि पार्क महत्वपूर्ण क्षेत्र भएको भन्दै पार्कको व्यवस्थापनका लागि गाउँपालिका निरन्तर लागिपरेको बताउनुभयो । उहाँले अहिले पार्कको आम्दानीभन्दा यसको प्रबर्द्धन र बिस्तारमा लागिएकोले भर्खरै यसबाट आउने आम्दानीको लागि लगानी गर्दै आएको भन्दै भविष्यमा पार्क गाउँपालिकाको मुख्य आम्दानीको स्रोत बन्ने बताउनुभयो । 


वडा नम्बर-२ का वडा अध्यक्ष निर बहादुर सारुका अनुसार पूर्वखोला गाउँपालिकाको समग्र बिकासका लागि चुलीडांडा र ढोलीमारा होमस्टे पर्यटकका लागि एक महत्वपूर्ण गन्तव्य बनेको छ । मगर बस्तीले ढाकेको यो गाउँमा आएका जो कोही पर्यटकहरुलाई मनोरम क्षेत्रको भ्रमणसंगै यहाको बास र खानाको राम्रो प्रबन्धले पर्यटनमा वृद्धि भएको वडा अध्यक्ष सारुको भनाई छ। आफ्नै महत्व रहेको बताउँदै वडा नम्बर-२ का वडा अध्यक्ष निर बहादुर सारुले पार्क र होमस्टेको प्रचारप्रसार हुन नसकेको स्वीकार्नुहुन्छ। यसका लागि सबैको सहयोगसंगै गाउँपालिकाले अझै पार्क र होमस्टेको संरक्षण र सम्बर्द्धनमा थप ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ । त्यसैले नेपालभर र बिदेशी पर्यटक भित्र्याउन सबैले आ-आफ्नो तर्फबाट पहल गर्दै यी संरचनाको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण दिनुपर्ने स्थानीयको माग छ । 

कमेन्ट गर्नुहोस्