लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पा पुगे गोरखा-जितगढी पदयात्राका सहभागी

IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख २ गते । दोस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी टोली आइतबार पाल्पा पुगेको छ । ऐतिहासिक गढी, किल्ला, दरबारको संरक्षण तथा प्रवर्द्धनका लागि नेपाली सेनाले गत चैत २७ देखि सुरु गरेको दोस्रो पदयात्रामा सहभागी सेनाको टोलीलाई रामपुर ३ केलादीमा भव्य स्वागत गरिएको छ । 


गोरखाबाट तनहुँ, स्याङ्जा, हुँदै पदयात्राको छैटौँ दिन पाल्पा आइपुगेको टोलीलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । श्री नं. ३ राजदल गणका प्रमुख सेनानी रवि खड्काको टोलीले दी फेमस महिन्द्र दल गणलाई झण्डा र विजय दीप हस्तान्तरण गरेको थियो । राष्ट्रिय झण्डाको साथमा नेपाल एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा र विजय दीपसहित पदयात्रामा निस्किएको टोलीलाई स्वागत गर्न पञ्चेबाजासहित जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरू केलादी पुगेका थिए । 


जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापा, रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, २२ नम्बर बाहिनी बुटवलका सहायक रथी ललितबहादुर कुँवर, दी फेमस महिन्द्र दल गणका गणपति भूपेन्द्र गुरुङ, लगायत रामपुर नगरपालिकाका कर्मचारी, विद्यार्थीसहित स्थानीयले स्वागत गरेका थिए । 


पदयात्रामा सहभागी टोलीलाई लखन पार्क, खोप्टार पाटी र देविस्थानमा सांस्कृतिक झाँकीसहित विभिन्न समूहले स्वागत गरेका थिए । रामपुर ४ देवीस्थानमा भएको कार्यक्रममा बोल्दै  जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले नेपाली सेनाको बहादुरीकै कारण मुलुक कसैको अधीनमा नपरेको बताउनुभयो । सेनाले चालेको कदमले ऐतिहासिक गढी तथा किल्लाहरूको संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । 


रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले ऐतिहासिक स्थलको पहिचान र प्रचार प्रसारका लागि भएको पदयात्राले भावी पुस्तालाई जानकारी दिन मात्र नभएर पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पदयात्राले सेना र जनताबिचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग गरेको बताउनुभयो । श्री नं. २२ बाहिनीका सहायक रथी ललितबहादुर कुँवरले इतिहासको संवर्धन तथा प्रवर्धन गरी भावी पुस्ताका लागि हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले गत वर्षदेखि पदयात्रा सुरु गरिएको जानकारी दिनुभयो । पाल्पा आफैँमा ऐतिहासिक स्थान रहेको बताउँदै वर्तमानलाई भविष्यसँग जोड्ने विशुद्ध योजना अनुरूप कार्यक्रम गरिएको बताउनुभयो । 


११ दिनको पदयात्रा दुई सय सात किलोमिटर दूरी पार गर्दै वैशाख ७ गते जितगढी पुगेर सकिनेछ । नेपाली सेनाले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोत, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउन गत वर्षदेखि पदयात्रा सुरु गरेको थियो । पाल्पामा रहेका ऐतिहासिक गढी, किल्ला, युद्धस्थल तथा पदमार्गको सेनाले ६ दिन लगाएर पदयात्रा गर्ने दी फेमस महिन्द्र दल गणका गणपति भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । 


केलादीदेखि सुरु भएर पदयात्रा ऐतिहासिक पौवा, देवीस्थान, सीताकुण्ड, बेलडाँडा, सिलुवा, जब्गादी, वीरकोट हुँदै बाकुमगढीमा पुग्नेछ । बाकुमगढीबाट ताहुँ, हुमिन, देवीनगर, मुन्टुङ, केरौली, झडेवा, जगात, गोठादी हुँदै माथागढी जानेछ । माथागढीबाट हर्नेटार, मरमरा, सिकारकोट, दमार, एक्लेबर सराई, दमकडा भएर प्रवास (तानसेन) मा बस्नेछ । प्रवासदेखि बर्तुङ तानसेन, रणउजिरेश्वरी भगवती मन्दिरबाट पुनः काजीपौवा बाट डुम्रे, मस्याम, सिस्ने, मरेक झुम्सा, दोभान भएर नुवाकोट गढीमा पुग्ने नेपाली सेनाले जनाएको छ । अन्तिम दिन दोभान नुवाकोटदेखि जितगढीसम्मकाे यात्रा गरेर पदयात्रा समापन हुनेछ । 

कमेन्ट गर्नुहोस्