लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१९ राजदूत र ४५ वाणिज्यदूतले लुम्बिनीबाट गरे विश्व शान्तिको आह्वान

IMG

तिलोत्तमा सिटी, २०८० चैत १० गते । विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका वाणिज्यदूतहरुले शुक्रबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्तिको आह्वान गरेका छन् । परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्य दूतहरुको संस्था अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन)ले संयुक्त रुपमा आयोजना गरेको लुम्बिनी कन्क्लेभमा उनीहरुले शान्ति विना समृद्धि सम्भव नहुने भन्दै विश्वशान्तिको आह्वान गरेका हुन् ।


विभिन्न देशबाट नेपाल आएका राजदूतहरुले लुम्बिनी परिसरमा विश्व शान्तिका लागि प्रार्थना समेत गरे । कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विकासलाई अगाडि बढाउन शान्ति आवश्यक रहेको बताए । उनले वर्तमान समयमा बुद्धका सन्देशको महत्व झन् बढेको बताए । ‘भगवान बुद्धको उपदेश बुद्ध धर्म मान्नेहरुका लागि मात्र होइन सबै धर्म मान्नेका लागि उत्तिकै उपयोगी छ’, उनले भने ।


उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानी गर्न पनि आह्वान गरे । सरकार परिवर्तन हुनु भनेको नीति परिवर्तन हुनु नभएको भन्दै सबै राजदूत र कुटनीतिज्ञहरुलाई आ आफ्नो देशमा नेपाल लगानीको राम्रो गन्तव्य भएको सन्देश फैलाउन आग्रह गरे । लुम्बिनी कन्क्लेभमा चर्चित कलाकार उजय बज्राचार्यको कला प्रदर्शनी र अन्य आर्थिक विषयवस्तुमा विचार गोष्ठी पनि भएको थियो । सम्मेलनको दोस्रो दिनको पहिलो सत्रमा नेपाल लगानी बोर्डका उपसचिव रमेश अधिकारीले नेपालमा रहेका लगानीका अवसर र आसन्न लगानी सम्मेलनका बारेमा जानकारी गराएका थिए ।


नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालमा पर्यटनको असीमित सम्भावना र लुम्विनीको पर्यटकीय महत्वको बारेमा प्रस्तुती गरेका थिए । अवैतनिक वाणिज्य दूतहरुको संस्था अनररी कन्सुलर कर्प्स नेपालका तर्फबाट डिन विष्णुकुमार अग्रवालले कन्क्लेभले समृद्धिका लागि शान्तिको आवश्यकतामा सम्मेलनले जोड दिएको बताए ।


‘विश्वका कैयन राष्टका राजदूतको यो उपस्थितिले बुद्ध जन्मभूमिलाई सम्मान मात्र गरेको छैन, अझ बढी शान्तिपूर्ण र समृद्धि विश्व बनाउनका लागि जग पनि बसालेको छ’, उनले भने ।

कमेन्ट गर्नुहोस्