लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी क्षेत्र फोहोरले दुर्गन्धित

IMG

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । फोहरमैलाको व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्र लुम्बिनी दुर्गन्धित बन्दै गएको छ । लुम्बिनी विकास कोषले पटक-पटक पवित्र क्षेत्र लुम्बिनीमा फोहोर नफ्याँक्न आग्रह गरेपनि बेवास्ता गर्दै स्थानीय र होटल व्यवसायीले डम्पिङसाइट जस्तै गरी लुम्बिनीको पर्खालभित्र फोहोर फाल्दै आएका छन् ।  जसले गर्दा लुम्बिनीको दक्षिणतर्फको पर्खाल क्षेत्र दुर्गन्धित बनेको छ । लुम्बिनी संस्कृति नगरपालिकाले पनि स्थानीय स्तरमा उत्पादित फोहोर व्यवस्थापन गर्न नसक्दा स्थानीयले लुम्बिनीको पर्खालभित्र फोहोर फाल्ने गरेका छन् । स्थानीयकै कारण फोहोरले दुर्गन्ध बढ्न थालेपछि पवित्र क्षेत्र लुम्बिनीलाई सफा राख्न चुनौती थपिएको छ । लुम्बिनीस्थित लुम्बिनी विकास कोषको दक्षिणपट्टी गेट नम्बर ३, ४ र ५ तर्फ स्थानीय र होटल व्यवसायीले जथाभाबी फोहोर फाल्दा दुर्गन्ध फैलिएको छ । कोषको दक्षिणपट्टी बाक्लो बस्ती छ भने दर्जनौँ होटलहरु सञ्चालनमा छन् ।


अधिकांश होटलहरुले कोषको पर्खालभित्र फोहोर फ्याँक्ने गर्छन् । जसले गर्दा ओहोरदोहोर गर्ने आन्तरिक तथा बाह्य पर्यटकले नाक खुम्च्याउनु पर्ने बाध्यता छ । लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र र आसपासमा विकास कोषले नियमित सरसफाइ गर्दै आएको छ । तर कोषको दक्षिणतिरको क्षेत्रमा नियमित सरसफाइ छैन । "स्थानीय स्तरमा उत्पादन हुने फोहोर नगरपालिकाले पनि व्यवस्थापन गर्न सकेको छैन । कोषले पटक-पटक आग्रह गर्दासमेत लुम्बिनीको पर्खालभित्रै फोहोर फ्याँक्न रोकिएको छैन", विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले भन्नुभयो, "पर्खाल क्षेत्रभित्र फोहोर नफाल्न पटक-पटक भन्दै आएका छौँ, अब कारबाही नगर्दासम्म नरोकिएला जस्तो भयो ।"


लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा दैनिक १५ देखि २० टन फोहोर उत्पादन हुन्छ । तर डम्पिङसाइट नहुँदा स्थानीयले जथाभाबी फोहोर फाल्ने गर्छन् । यसको असर लुम्बिनी परिसरभित्र पनि गरेको छ । बर्सेनि आन्तरिक र बाह्य गरी लुम्बिनीमा लाखौँ पर्यटक आउँछन् । यसरी आउने पर्यटकले समेत जथाभाबी फोहोर फ्याँक्दैनन् । तर, लुम्बिनीको सामीप्यमै रहेका स्थानीय र होटल व्यवसायीले फोहोर लगेर कोषको परिसरभित्रै फ्याँक्दा लुम्बिनीप्रति उनीहरूको दृष्टिकोणमा परिवर्तन आउन नसकेको हो की भन्ने प्रश्न उब्जिएको छ ।


"लुम्बिनी सफा रहनुपर्छ, सफा नभएको खण्डमा स्थानीयकै पहलमा सरसफाइ गरिनुपर्ने हो । तर लुम्बिनीको संरक्षणमा सबैभन्दा बढी जिम्मेवार मानिनुपर्ने स्थानीय र केही व्यवसायीकै लापरबाहीले दुर्गन्ध फैलिरहेको छ", लुम्बिनी होटल सङ्घका महासचिव पुरुषोत्तम अर्यालले भन्नुभयो, "हामीले फोहोर नफाल्न सचेत गराउँदै आएका छौँ । लापरबाही गर्नेलाई कारबाही गर्नुपर्छ । यसमा हामी पनि साथ दिन्छौँ ।" उहाँले पवित्र क्षेत्रलाई सफासुग्घर राख्नु कोषको मात्रै नभएर सबैको दायित्व रहेको बताउनुभयो ।


लुम्बिनीलाई सफा राख्न कोषसँगै स्थानीय सरकार र स्थानीय बासिन्दा उत्तिकै जिम्मेवार बन्नुपर्ने हुन्छ । गत वैशाखमा लुम्बिनीमा बृहत् सरसफाइ अभियान चलाइएको थियो । त्यसपछि केही समय पर्खालभित्र फोहोर फाल्न रोकिएको थियो । तर, अहिले पुनः जथाभाबी फोहोर फाल्न थालिएको छ । यसले दुर्गन्ध बढाएको छ नै नकारात्मक सन्देश समेत प्रवाह गरिरहेको छ ।


लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमानले लुम्बिनीको पर्खालभित्र फोहोर नफाल्न पटक-पटक आग्रह गर्दै आएको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापनमा पालिकाले काम गरिरहेको जनाउँदै कुहिने र नकुहिने फोहोर छुट्टाएर राखेर नगरपालिकाले तोकेको ठाउँमा फाल्न आग्रह गरे । उहाँले भन्नुभयो, "छिट्टै डम्पिङसाइट बनाउने तयारीमा हामी छौँ, त्यसैले अहिलेलाई जहाँतहीँ फोहोर नफाल्न मेरो आग्रह छ ।"

कमेन्ट गर्नुहोस्