लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पोखरामा ५ तलाभन्दा अग्लो घर बनाउन नपाइने

IMG

तिलोत्तमा सिटी,२०८०  फागुन १० गते । पोखरा महानगरपालिकाभित्र अबदेखि ५ तलाभन्दा अग्ला घर बनाउन नपाइने भएको छ । महानगरले भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै १७ मिटरसम्मको मात्रै घर बनाउने नीति ल्याएको हो । यसअघि फेवा किनार क्षेत्रमा साढे २ तला र अन्य क्षेत्रमा साढे ३ तलासम्मको घर बनाउन पाइने नियम थियो । तर उक्त नियम महानगरले समेत कार्यान्वयन गरेको छैन । २०३१ सालमा तत्कालीन अञ्चलाधीस शंकरराज पाठकले पोखराको भूगोल कमजोर रहेको र सबै ठाउँबाट हिमाल देखिनुपर्ने मान्यताका साथ मापदण्ड कायम गरेका थिए ।


त्यसपछि पनि महानगरले विभिन्न समयमा मापदण्ड सच्याउँदै आएको छ । २०७५ सालमा इन्जिनियर भरतराज पहारीको संयोजकत्वमा गठित अध्ययन समितिले भवनको उचाइ मापदण्डमा अंकुश लगाउन नहुने सुझाव दिएको थियो । नयाँ नयाँ मापदण्ड आएपछि बनिसकेका घरको हकमा भने कडाइ गरिएको छैन । न ति घरले कर तिर्छन् न अबैध भनेर भत्काइएका छन् । ‘अब १७ मिटरसम्मको घरको मात्रै नक्सापास हुन्छ । यो नियमलाई कडाइका साथ कार्यान्वयन गर्ने हो,’ इन्जिनियर सुरेन्द्र पौडेल भन्छन्, ‘त्यो भन्दा माथिको घर बनाउन महानगरको प्राविधिक समितिले निर्णय गर्नुपर्छ । उक्त समितिको निर्णयपछि मात्रै बनाउन पाइन्छ ।’


५ तलासम्मको घर बनाउन पनि फ्लोर एरिया रेसियो (एफएआर) र ग्राउण्ड कभरेज रेसियो (जिसीआर) अनिवार्य पालना गर्नुपर्छ । महानगरले वडागत फरक फरक मापदण्ड तय गरेको छ । सडक, खोला, नदी, विमानस्थल लगायत क्षेत्रको मापदण्ड पनि छुट्टै छ । ‘मापदण्ड पुस्तिका हेरेपछि वडागत सडकको नाम र मापदण्ड लेखिएको छ । क्षेत्रगत मापदण्ड पनि छन्,’ पौडेल भन्छन् । पोखरालाई १० वटा क्षेत्रमा विभाजन गरिएको छ । २०३१ सालपछि पहिलो पटक पोखराले पूर्वाधारको स्पष्ट मापदण्ड तय गरेको उनले सुनाए । मेयर धनराज आचार्यले तत्कालै मापदण्ड राजपत्रमा प्रकाशित हुने र कार्यान्वयनमा जाने बताए ।

कमेन्ट गर्नुहोस्