लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धार्थनगर नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै

tillotmacitynews - 2024 Feb 19 08:47 PM
IMG

तिलोत्तमा सिटी,२०८०  फागुन ७ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले युवा वर्गलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सरकारी सेवामा आकर्षण घट्दो अवस्थामा रहेको हुँदा नगरका युवासहित लक्षित वर्गलाई सरकारी सेवामा आकर्षण र मानव संशोधनको विकास गर्ने उद्देश्यले पालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको हो । कक्षामा लोकसेवा सम्बन्धी सामान्य ज्ञान, बौद्धिक परीक्षण, लेखन तथा सेवाका विषयहरूमा प्रशिक्षण दिइने सिद्धार्थनगर नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत लक्ष्मण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरु भएको कक्षा चैत ३० गतेसम्म सञ्चालन हुनेछ । नायव सुब्बा पदको तयारी कक्षामा सहभागी हुन ६१ जनाको आवेदन परेकोमा सबैलाई कक्षामा सहभागी गराइएको गिरीले जानकारी दिनुभयो ।


दुई महिनासम्म सञ्चालन हुने तयारी कक्षाका लागि जिल्लाभित्रका सरकारी निकायमा कार्यरत कर्मचारी प्रशिक्षकमार्फत कक्षा सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाले जनमुखीहरू कार्यहरू गर्दै आएको छ । "भौतिक पूर्वाधारको विकाससँगसँगै मानव संशोधनको विकास पनि अपरिहार्य छ", सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भन्नुभयो, "गत वर्ष सञ्चालन गरिएको तयारी कक्षाका लागि नगरवासीको आकर्षण देखिएपछि यस वर्ष पनि कक्षा सञ्चालन गरेका हौँ ।"


गत वर्षपनि निःशुल्क लोकसेवा तयारी कक्षाका लागि मागभन्दा बढी आवेदन परेपछि चालु आ.वमा विगतको वर्षको मागलाई मध्यनजर गर्दै चाल् आ.वमा खरीदार पदको लागि पनि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ । शिक्षा हासिल गरेका तर आर्थिक लगायत कारण लोकसेवा तयारी कक्षामा सहभागी हुन नसकेका नगरवासीहरूका लागि तयारी कक्षा फलदायी देखिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताउनुभयो । 

कमेन्ट गर्नुहोस्