लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जग्गा कहाँ छ र ? रामग्रामको जग्गा कसैलाई लिजमा दिइएकाे छैन : लुम्बिनी विकास कोष

IMG

तिलोत्तमा, माघ १६ गते २०८०।भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषले स्पष्ट पारेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सोमबार एक विज्ञप्ती जारी गर्दै कान्तिपुर जस्तो प्रतिष्ठित मिडियाले हुँदै नभएको जग्गा सम्झौता गरेको भनेर भ्रमपूर्ण समाचार दिएको भन्दै आम नागरिकलाई स्पष्ट पारेको हो ।१२० बिघा जग्गा ९९ वर्षका लागि निजी कम्पनीलाई लिजमा दिन लागिएको भनेर समाचारमा भनिएकोमा त्यो आफैमा भ्रामक रहेको उपाध्यक्ष डा. लामाले विज्ञप्ती मार्फत खण्डन गरेका छन । ‘लुम्बिनी विकास कोष अन्तरगत रहेको नवलपरासी पश्चिम, रामाग्राममा १२० बिघा जग्गा छैन । जग्गा अधिकरण गर्ने विकास कोषलाई अधिकार छैन । सो जग्गा अधिकरण गर्न रकम पनि छैन’ उपाध्यक्षद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘हुँदै नभएको जग्गा लिजमा दिने र सम्झौता ग¥यो भन्ने कुरामा कुनै सत्यता छैन । बुद्धको पवित्र अस्तु धातु रहेको ठाउँलाई प्रचार–प्रसार गर्नुको साटो त्यस क्षेत्रको विकासमा नकारात्मक प्रभाव पार्ने गरि यस्तो कपोकल्पीत दुष्प्रचार गर्नु खेदजनक छ ।’


वृहत्तर लुम्बिनीको विकासका लागि नेपालको संविधान,कानून र प्रचलित अभ्यास भित्र रहेर सम्बन्धित निकाय तथा संस्थाहरुको अनुमति लिएर मात्र हरेक काम सञ्चालन हुने समेत विज्ञप्तीमा स्पष्ट पारिएको छ । ‘कुनै पनि निर्णय पारदर्शी र राज्यका सबै निकायको अनुमति लिएर मात्र हुने कुरा म पुनः प्रष्ट पार्न चाहान्छु’ उपाध्यक्ष डा. लामाले विज्ञप्तीमा भनेका छन ।नवलपरासी पश्चिम रामाग्राम स्तूपको उत्खनन् तथा बौद्ध स्तुप निर्माणका लागि विभिन्न अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग लुम्बिनी विकास कोषले सहकार्यका लागि आह्वान गरिरहेका बेला बिना प्रतिस्पर्धा जग्गा लिजमा दिन लागिएको भनी  नियोजित रुपमा भ्रम फैलाइएको विज्ञप्तीमा भनिएकोे छ ।कान्तिपुर जस्तो प्रतिष्ठित सञ्चारगृहले वृहत्तर लुम्बिनीको विकासमा अवरोध गर्ने परम्परागत शक्ति र व्यक्तिहरुको चलखेल र उनीहरुको सुचनाका आधारमा समाचार प्रकाशन गर्नु दुःखद भएको उपाध्यक्षको भनाई छ ।


लुम्बिनीको विकासमा निजी स्वार्थ सबै त्यागेर तलब भत्ता समेत नलिई काम गरिरहेको व्यक्तिमाथि प्रतिशोधपूर्ण ढंगबाट आरोप लगाउनेहरुलाई आरोप पुष्टि गर्न उपाध्यक्ष डा. लामाले चुनौति दिएका छन । ‘म कोषको उपाध्यक्ष नियुक्त भएर आउनु भन्दा केही महिना अघि नै संघीय सरकारका विभिन्न मन्त्रालयमा पत्राचार भएको विषयलाई मसँग जोडेर प्रचार गर्नुले पनि गलत नियत र प्रतिशोधी भावना झल्किन्छ । म आएपछि लिजमा दिने बारे कुनै प्रक्रिया अघि बढेको छैन ’ विज्ञप्तीमा उल्लेख छ ।डा. लामाले लुम्बिनी विकास सग सरोकार राख्ने, सम्पुर्ण आम सरोकारवाहरुलाई समाचारमा भनिएजस्तो त्यस सम्बन्धी कुनै निर्देशिका बनाएर लिजमा दिने कुनै सम्झौता नभएको स्पष्ट पारेका छन । उपाध्यक्षले लुम्बिनी विकास कोष रचनात्मक सहयोग, सल्लाह सुझाव र विकासमा नागरिकहरुसँग हातेमालो गर्न चाहेको उल्लेख गरे ।‘सम्मानीय प्रधानमन्त्रीलाई उपस्थित गराएर भगवान बुद्धको अस्थिधातु समाधि गरिएको ठाउँ विश्वभकार बौद्ध समुदायलाई देखाएर लगानी भित्र्याउन खोजिएको कुरालाई विषयान्तर गर्न वृहत्तर लुम्बिनी विरोधी गिरोहले मिडियाबाजी गरेको प्रष्ट बुझ्न सकिन्छ ’ विज्ञप्तीमा भनिएको छ ।


अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्न खोज्दा विवाद सिर्जना गर्ने र सयौं वर्षसम्म वृहत्तर लुम्बिनीको विकास हुन नदिने योजनाबद्ध षड्यन्त्र भइरहेको र त्यसैको स्वरुप समाचार आएको विज्ञप्तीमा भनिएको छ । ‘लुम्बिनी विकास कोषमा मेरो नियुक्ति रोक्ने सबै प्रयास असफल भएपछि म माथिको चरित्रहत्याको खेतीको पछिल्लो श्रृंखलाका रुपमा मैले यसलाई लिएको छु । मैले लुम्बिनीको विकास र विस्तारका लागि थालेका राम्रा काम र तिलौराकोट लगायतका क्षेत्रहरूको पछिल्लो विकास संरक्षणका प्रयास मेरो लुम्बिनीलाई अन्तर्राष्ट्रिय गर्न पु¥याएको योग्दानलाई ओझेलमा पारेर हुँदै नभएका निर्णय र सम्झौताको पटकथा तयार पारेर चरित्रहत्याको प्रयास गरिरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ उपाध्यक्ष डा. लामाले भनेका छन्। बुद्धमार्ग र अभ्यास मेरो जीवनको पद्धति भएको बताउँदै बुद्धको पवित्र  जन्मस्थलको विकास, संरक्षण  तथा यसको अन्तर्राष्ट्रियकरण गर्नु आफ्नो एक मात्र दायित्व र एक मात्र मन्त्र रहेको लामाले स्पष्ट पारेका छन् ।

 

--------------------

विज्ञप्तीकाे पूर्ण पाठ 

प्रेस वक्तव्य 

भगवान गौतम बुद्धको अस्तु धातु रहेको पवित्र स्थल नवलपरासी पश्चिम, रामाग्राममा स्तूपमा स्थलको उत्खनन् तथा बौद्ध स्तुप निर्माणका लागि विभिन्न अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग लुम्बिनी विकास कोषले सहकार्यका लागि आह्वान गरिरहेका बेला बिना प्रतिस्पर्धा जग्गा लिजमा दिन लागिएको भनी आएको नियोजित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।वृहत्तर लुम्बिनीको विकासमा अवरोध गर्ने परम्परागत शक्ति र व्यक्तिहरुको चलखेल र उनीहरुको फेक न्युजको कारखानाबाट निर्मित प्रायोजित कथनलाई समाचारको रुप दिएर देशको प्रतिष्ठित मिडिया हाउस कान्तिपुरले प्रकाशन गर्नु दुःखद पक्ष हो । लुम्बिनीको विकासमा निजी स्वार्थ सबै त्यागेर तलब भत्ता समेत नलिई काम गरिरहेको व्यक्तिमाथि प्रतिशोधपूर्ण ढंगबाट आरोप लगाउनेहरुलाई उक्त आरोप पुष्टि गर्न चुनौति दिन चाहान्छु ।


बुद्धमार्ग र अभ्यास मेरो जीवनको पद्धति हो र बुद्धको पवित्र  जन्मस्थलको विकास, संरक्षण  तथा यसको अन्तर्राष्ट्रियकरण गर्नु मेरो दायित्व र एक मात्र मन्त्र हो । वृहत्तर लुम्बिनीको विकासका लागि नेपालको संविधान,कानून र प्रचलित अभ्यास भित्र रहेर सम्बन्धित निकाय तथा संस्थाहरुको अनुमति लिएर मात्र हरेक काम सन्चालन हुनेछन् । कुनै पनि निर्णय पारदर्शी र राज्यका सबै निकायको अनुमति लिएरमात्र हुने कुरा म पुनः प्रष्ट पार्न चाहान्छु ।जसरी १२० बिघा जग्गा ९९ सय वर्षका लागि निजी कम्पनीलाई लिजमा दिन लागिएको भनेर समाचार बनाइएको छ, त्यो आफैमा भ्रामक छ। लुम्बिनी विकास कोष अन्तरगत रहेको नवलपरासी पश्चिम, रामाग्राममा १२० बिघा जग्गा छैन र जग्गा अधिकरण गर्ने विकास कोषलाई अधिकार छैन र सो जग्गा अधिकरण गर्न रकम पनि छैन भने, हुँदै नभएको जग्गा लिजमा दिने र सम्झौता गर्‍यो भन्ने कुरामा कुनै सत्यता छैन । बुद्धको पवित्र अस्तु धातु रहेको ठाउँलाई प्रचार-प्रसार गर्नुको साटो त्यस क्षेत्रको विकासमा नकारात्मक प्रभाव पार्ने गरि यस्तो कपोकल्पीत दुष्प्रचार गर्नु खेदजनक छ।


म कोषको उपाध्यक्ष नियुक्त भएर आउनु भन्दा केही महिना अघि नै संघीय सरकारका विभिन्न मन्त्रालयमा पत्राचार भएको विषयलाई मसँग जोडेर प्रचार गर्नुले पनि गलत नियत र प्रतिशोधी भावना झल्किन्छ । म आएपछि लिजमा दिने बारे कुनै प्रक्रिया अघि बढेको छैन ।लुम्बिनी विकास सग सरोकार राख्ने, सम्पुर्ण आम सरोकारवाहरु लाई स्पष्ट पार्न चाहान्छु, समाचार भने जस्तो  त्यस सम्बन्धी कुनै निर्देशिका बनाएर लिजमा दिने कुनै सम्झौता भएको छैन, बरु लुम्बिनी विकास कोष रचनात्मक सहयोग, सल्लाह सुझाव र विकासमा तपाईहरु सगै हातेमालो गर्न चाहान्छु र गर्दै आई रहेको अवगत पनि गराउन चाहान्छु।सम्मानीय प्रधानमन्त्रीलाई उपस्थित गराएर भगवान बुद्धको अस्थिधातु समाधि गरिएको ठाउँ विश्वभकार बौद्ध समुदायलाई देखाएर लगानी भित्र्याउन खोजिएको कुरालाई विषयान्तर गर्न वृहत्तर लुम्बिनी विरोधी गिरोहले मिडियाबाजी गरेको प्रष्ट बुझ्न सकिन्छ ।सरकारसँग पैसा नभएर ४८ वर्षदेखि लुम्बिनी गुरुयोजना सफल भएको छैन । राममग्राम तिलौराकोट लगायत धेरै ठाउँमा गुरुयोजना बनाउनुपर्नेछ । त्यसका लागि हामीले अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्न खोज्दा विवाद सिर्जना गर्ने र सयौं वर्षसम्म वृहत्तर लुम्बिनीको विकास हुन नदिने योजनाबद्ध षड्यन्त्रको पछिल्लो कडीको रुपमा यो समाचारलाई लिएको छु।


लुम्बिनी विकास कोषमा मेरो नियुक्ति रोक्ने सबै प्रयास असफल भएपछि म माथिको चरित्रहत्याको खेतीको पछिल्लो श्रृंखलाका रुपमा मैले यसलाई लिएको छु । मैले लुम्बिनीको विकास र विस्तारका लागि थालेका राम्रा काम र तिलौराकोट लगायतका क्षेत्रहरूको पछिल्लो विकास संरक्षणका प्रयास मेरो लुम्बिनीलाई अन्तर्राष्ट्रिय गर्न पुर्‍याएको योग्दानलाई ओझेलमा पारेर हुँदै नभएका निर्णय र सम्झौताको पटकथा तयार पारेर चरित्रहत्याको प्रयास गरिरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।यस्ता षड्यन्त्रकारीहरुको रचनामा नफस्न म कान्तिपुर मिडियालाई आग्रह गर्न चाहान्छु । ५ वर्षपछि लुम्बिनी विकास कोषले गरेका ऐतिहासिक कामहरुको सँगालो तयार पार्नुहोला, तत्काल अधैर्य नभइदिन विनम्रता पुर्वक अनुरोध गर्दछु ।


डा.ल्हारक्याल लामा

उपाध्यक्ष,लुम्बिनी विकास कोष

कमेन्ट गर्नुहोस्