लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बढ्यो तरुलको खपत,भित्रियो १ हजार ६ सय १३ टन तरुल

IMG

तिलोत्तमा,२०८० माघ १ गते । यस वर्षकाे पुस मसान्तसम्म कालीमाटी तरकारी बजारमा एक हजार छ सय १३ टन तरुल भित्रिएको छ । यो अघिल्लो वर्षको यही अवधिसम्मकाे तुलनामा धेरै रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।अघिल्लो वर्ष चैतसम्म एक हजार छ सय ९३ टन तरुल भित्रिएकोमा अहिले पुस २९ गतेसम्म नै एक हजार छ सय १३ टन तरुल भित्रिएको समितिका प्रवक्ता तथा उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो । अझ तीन महिना तरुल भित्रिने समय भएको हुँदा अघिल्लो वर्षको तुलनामा धेरै भित्रिने उहाँ बताउनुहुन्छ । पुस महिनामा मात्र कालीमाटी तरकारी बजारमा एक हजार तीन सय ४५ टन तरुल भित्रिएको छ ।


पहिले–पहिले माघे सङ्क्रान्तिलाई लक्षित गरेर मात्र तरुलकाे उत्पादन हुने गर्थ्याे तर अहिले वर्षभरि नै तरुलको उपभोग गर्ने हुनाले खपत बढेको हो । अहिले उपभोग संस्कृति बढेको र हरेक महिना तरुल बजारमा आइरहने हुनाले पनि खपत बढेको समितिका प्रवक्ता तथा उपनिर्देशक श्रेष्ठको भनाइ छ ।तरुल विशेषगरी सर्लाही, सुनसरी, मोरङ, धादिङ, मकवानपुर, झापा, दाङ, चितवनबाट धेरै भित्रन्छ । बजारमा सर्लाहीबाट झन्डै ४९ प्रतिशत, सुनसरीबाट १०, मोरङबाट आठ, धादिङबाट पाँच र झापाबाट चार प्रतिशत तरुल भित्रन्छ । भारतबाट पनि छ प्रतिशत तरुल भित्रने गरेको छ ।


बजारमा घर तरुल, वन तरुल, हात्ती पाइले, सिमल तरुल, पताले तरुल गरी विभिन्न प्रकारका तरुल पाइन्छ । माघे सङ्क्रान्तिमा विशेषगरी तरुल खाने प्रचलन हुँदा पुस मसान्तमा तरुलको कारोबार अत्यधिक हुने गर्छ ।

कमेन्ट गर्नुहोस्