
तिलोत्तमा पुष १४। साउदी अरब जान काठमाडौंको त्रिभुवन विमानस्थल पुगेका पाल्पाका युवा विक्रम पंगेनी सम्पर्कविहीन भएका छन् ।पाल्पाको पूर्वखोला गा.पा. वडा नं. १ माझकोटका २३ वर्षीय विक्रम साउदी अरब जान भनी यही पुस ३ गते मंगलबार घरबाट काठमाडौं पुगेपछि सम्पर्कविहीन भएका हुन् । ११ दिनसम्म छोरा सम्पर्कमा नआएपछि खोजीमा सहयोग गरिदिन विक्रमका बुबा जगन्नाथ पंगेनीले सम्बन्धित निकायसंग अपील गरेका छन् । करिब १८ महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब गएका विक्रम ४५ दिनको बिदामा घरमा आएका थिए । फ्लाई दुवईमार्फत २२ डिसेम्बर २०२३ (पुस ६ गते) ००ः४५ मा काठमाडौंबाट उडेर दुवई हुँदै ९ः०० बजे रियाद पुग्ने जहाज टिकट रहेको विक्रमका दाजु सागर पंगेनीले बताए ।
शुक्रबार साँझ त्रिभुवन विमानस्थलभित्र प्रवेश गरी आफूले सामान चेकजाँच गराएको भनी फोन गरेका विक्रम त्यसपछि सम्पर्कमा नआएको सागरले बताए । विक्रमले चलाउने मोबाइल नम्बरमा पठाएका कुनै पनि म्यासेजको जवाफ नआएको सागरले बताए ।भाइ विक्रमको खोजी गरिदिन सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको तर अहिलेसम्म कुनै प्रगति नदेखिएको सागरले बताए ।आफन्तमार्फत फ्लाई दुवईको काठमाडौंस्थित काउन्टरमा बुझ्दा २२ डिसेम्बर ००ः४५ मा विक्रम दुवई गएको नदेखिएको जनाएपछि परिवारजन झनै चिन्तामा रहेको विक्रमका ठूलोबुबा ठाकुर पंगेनीले बताए । फ्लाई दुवईको जहाज छुटिसकेपछि विक्रम विमानस्थलबाट शुक्रबार राति नै बाहिर निस्केको आशंका गरिएको छ ।
‘विमानस्थलको सिसिटिभी फुटेज हेर्दा राति साढे ११ बजेतिर विक्रम बाहिर निस्केर प्रतीक्षालयसम्म पुगेको र त्यहाँ एक जना मानिससंग कुरा गरेकोजस्तो देखिएको तर त्यसपछि उनी कहाँ गए भन्ने पत्ता लागेको छैन’ विक्रमका ठूलो बुबा ठाकुर पंगेनीले बताए ।विक्रमको खोजीका लागि परिवारजन मंगलबारदेखि काठमाडौंमा रहेका छन्। विक्रमको खोजीमा सहयोग गर्न परिवारजनले सम्बन्धित निकायसंग अनुरोध गरेका छन् । विक्रमको बारेमा जानकारी पाएमा फोन नं. ९८६९४५७५४६, ९८५७०३९७३८ वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न पनि परिवारजनले आग्रह गरेका छन् ।
कमेन्ट गर्नुहोस्