लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा

IMG

तिलोत्तमा सिटी, २०८० मंसिर, २९ गते । चीनको ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण सहित नेपाल र चीनबीचको संस्कृति आदान प्रदान र लुम्बिनीमा विपन्न समुदायलाई खाद्यान्न वितरणका लागि ११ सदस्यीय टोली भैरहवा विमानस्थल हुँदै लुम्बिनी आएको हो । चिनियाँ टोलीलाई नेपाल–चीन मैत्री समाज लुम्बिनीले विमानस्थलमा स्वागत गरेको थियो ।


सो अवसरमा ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङले नेपाल र चीनबीच सदियौंदेखि सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको संस्कृति आदान प्रदान र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धनका लागि मैत्रीपूर्ण भ्रमणमा आएको बताए । ग्वान्दोङ चीनको उच्च जनघनत्व भएको प्रान्त भएकाले आफ्नो टोलीको भ्रमणले त्यहाँका बौद्धमार्गी पर्यटकलाई लुम्बिनी भ्रमणमा प्रेरणा मिल्ने रुइजिङले बताए ।


चिनियाँ टोलीलाई स्वागत गर्दै नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले गौतमबुद्ध विमानस्थलमा चिनियाँ शहरबाट सिधा उडानको वातावरण मिलाइदिन आग्रह गरे । उनले नेपाललाई चीन सरकारको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा छिटो सहभागी गराई केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग निर्माणमा सहयोग गर्न आग्रह गरे ।


केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग बनेको खण्डमा करोडौंको संख्यामा रहेका चिनियाँ बौद्धमार्गीलाई लुम्बिनी आउन सहज हुने अध्यक्ष सापकोटाले बताए । नेपाल चीन मैत्री समाजका महासचिव मनिषकुमार जोशीले ग्वान्दोङ प्रान्तका व्यवसायीलाई लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन चिनिया टोलीसँग आग्रह गरे ।

कमेन्ट गर्नुहोस्