लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुपादेउराली मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,१६ गते ।  अर्घाखाँचीको सुपादेउराली मन्दिरको भेटीबाट विद्यालय सञ्चालन भएका छन् । मन्दिर व्यवस्थापन समितिले मन्दिरमा चढाएको भेटी (रुपियाँ) सङ्कलन गरेर जिल्लाका चारवटा विद्यालयका आठ जना शिक्षक शिक्षिकालाई तलब उपलब्ध गराउँदै आएको छ । २०४० सालमा लित्ते पुजाबाट सुरु भएको सुपा देउराली मन्दिरले सुरुदेखिनै विद्यालय सञ्चालन, पार्टीपौवा निर्माण, गरिबअसहाय तथा प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्दै आएको छ । जाजरकोट र रुकुमपश्चिका भूकम्पपीडित परिवारलाई मन्दिरले एक लाख ५१ हजार रुपियाँ सहयोग गरेको छ ।


मन्दिरले आदर्श मावि खाँचीकोटका शिक्षकको तलबका लागि मासिक ६१ हजार सहयोग गर्दै आएको छ । शान्ति निमावि सितगंगामा ६८ हजार, सितापुर आधारभूत विद्यालयलाई २४ हजार र देउराली आधारभूत विद्यालयमा मासिक १२ हजार रुपियाँ सहयोग गर्दै आएको सुपादेउराली मन्दिर व्यवस्थापन समितिका सचिव हरि खनालले जानकारी दिनुभयो ।


त्यस्तै, खाँचीकोटमा रहेको स्वास्थ्य चौकीलाई पनि मन्दिरले मािसक १३ हजार रुपियाँ सहयोग गर्दै आएको छ । आदर्श माविको भवन निर्माणमा १४ लाख रुपियाँ सहयोग गरेको छ । समितिका अनुसार मन्दिरमा चाडपर्व र पर्यटनको मौसममा भेटीबाट दैनिक दुई लाख रुपियाँसम्म आम्दानी हुन्छ । समान्य दिनमा भने दैनिक १० हजार रुपियाँसम्म भेटी उठ्ने गर्दछ ।


समितिका कोषाध्यक्ष कृष्ण पुरीले भन्नुभयो, “महिनामा २०/२२ लाख भेटी सङ्कलन हुन्छ । अरु आयस्रोत छैन । त्यही भेटीबाट विद्यालय र सामाजिक काममा सहयोग गर्दै आएको छौं ।” मन्दिरको नाममा हाल ४२ तोला सुन र करिब डेढ करोड रुपियाँ छ । गुठीहरुको व्यवस्था भने छैन । करिब ९० हजार रुपियाँ मन्दिरका चारजना कर्मचारीको तलबमा खर्च हुँदै आएको छ ।  


सुपादेउराली मन्दिर नेपालको प्रसिद्ध मन्दिर भएकाले यहाँ चाडपर्व र पर्यटकीय मौसममा दैनिक १० हजारसम्म पर्यटक आउने समितिले जनाएको छ । सामान्य दिनमा तीन हजारसम्म आउने सचिव खनालले बताउनुभयो । भारतबाट पनि पर्यटक आउछन् । सचिव खनालले भन्नुभयो “पछिल्लो समय ४० प्रतिशत भक्तजन इन्डियन हुन्छन् र ६० प्रतिशत नेपाली आउछन् । लुम्बिनी प्रदेशका जिल्लाबाट बढि सङ्ख्यामा आउछन् ।”


विद्यालयमा सरकारी अनुदान र दरवन्दी नभएपछि मन्दिरको भेटी सङ्कलन गरेर शिक्षकलाई तलब दिइएको हो । आदर्श मावि खाँचीकोटका निमित्त प्रधानध्यापक टुल्क थापाले भन्नुभयो, “मन्दिरको सहयोगबाट विद्यालय सञ्चालनमा सहयोग पुगेको छ । निजी स्रोतका शिक्षकलाई मन्दिरले तलब दिइरहेको छ ।”


सुपादेउराली मन्दिरमा पूजा गरेपछि मनले चाहेको पूरा हुने मान्यताले भक्तजनको घुइँचो हुने गर्दछ । किम्बदन्ति अनुसार वैदेशिक रोजगारमा जाँदा धेरै धन कमाउँ आउँदा सुनको ध्वजा चढाउछु भनेर भाकल गरेका लाहुरे धेरै धन कमाएर घर फर्कदा अर्कै बाटो गएपछि सुपादेउराली भगवतीले लाहुरेलाई सबै सामानसहित भिरमा टासिदिइको किम्बदन्ती छ । लाहुरेको तस्बिर अहिले पनि भित्तामा टाँसिएको देख्न सकिन्छ । भmुटो बोल्न हुँदैन भन्ने किम्बदन्ति सुपादेउरालीको छ ।


मन्दिरमा भक्तजनले सुन भेटी (नगद), परेवा, बोका तथा अन्य कपडालगायत जिन्सि सामग्रीहरु चढाउने गर्दछन् । भक्तजनहरु पूजा गरिसकेपछि मन्दिर नजिकै रहेको नरपानी पार्कमा र रिसोर्टमा रमाउने गर्दछन् । मन्दिरमा चढाएका बोकाहरु घरमा लान नपाइने मान्यता अनुसार सोही स्थानमा पकाउने, खाने रमाउने गर्दछन् । साथै बन्जिजम्प झोलुङ्गे पुलमा मनोरन्जन लिने र सेल्फि खिच्नेको घुइँचो हुने गर्दछ । 


मन्दिरका मुल पुजारी ठाकुर खनालले भन्नुभयो, “यस मन्दिरमा पूजा गरिसकेपछि मनले चाहेको पूरा हुन्छ र अर्को कुरा यो ठाउँ अत्यन्त सदाबहार चिसो सबै हिमाल देखिने प्राकृतिक सौन्र्दयले भरीपूर्ण भएकाले धार्मिक भक्तजनहरु पूजासँगै घुम्नका लागि पनि आउने गर्दछन ।”

कमेन्ट गर्नुहोस्