लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोहिणीमा भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

IMG

तिलोत्तमा सिटी, ११  मंसिर २०८० । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १.२५ करोड रुपैयाँ आर्थिक सहयोगमा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको सोमबार उद्घाटन गरिएको छ । उपराष्ट्रपति रामसहाय यादवले भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवको उपस्थितिमा औपचारिक उद्घाटन गरेका हुन् । 


उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान दुई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । जिल्ला समन्वय समिति, रुपन्देहीमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको दूतावासले जनाएको छ । 


कार्यक्रममा बोल्दै सम्माननीय उपराष्ट्रपति यादवले नेपालका शैक्षिक तथा अन्य विविध क्षेत्रमा पूर्वाधार विकासका लागि भारत सरकारले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबिचको विकास साझेदारीले दुई देशका जनताबिचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन ठुलो योगदान गरेको बताए ।  कार्यवाहक राजदूत श्रीवास्तवले यी परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण हिस्सा भएको जिकिर गरे । साथै वहाँले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरूलाई समेत समेटेको बताए। 


श्री पोखरभिण्डी माध्यमिक विद्यालय सन् १९५९ मा स्थापना भएको हो । त्यसयता यस क्षेत्रका विद्यार्थीलाई कक्षा १० सम्मको शिक्षा दिदै विद्यालयले राम्रो शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा करिब ५५% छात्रा रहेका छन् । 


सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् जसमा १२ वटा परियोजना रुपन्देहीमा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ जसमध्ये लुम्बिनी प्रदेशलाई १६० वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । रुपन्देही जिल्लालाई हालसम्म २९ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस प्रदान गरिएको छ । 

कमेन्ट गर्नुहोस्