लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मेला भोलीदेखि शुरु: उद्घाटन डा.चन्द्र भण्डारीले गर्ने

IMG

तिलोत्तमा , कार्तिक ३० गते २०८०। तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा हुने तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० को तयारी पुरा भएको छ । मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भन्डारीले गर्ने कार्यक्रम तय भएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधी भन्डारी माधवले जानकारी दिए । डा.भण्डारी घरायसी दुर्घटना पछि संसद बाहिर पहिलो पटक यस्तो सार्बजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन्। 


मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ संस्था,टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेष भुषा र झाकी सहित प्रभात फेरि कार्यक्रम गरिने प्रकाशन, जनचेतना र्याली श्रब्य दृष्य ब्यवस्थापन समितिका संयोजक हरिलाल पान्डेले बताए ।प्रभात फेरि कार्यक्रम मेला सचिवालयबाट कफि कम्पनी, मणिग्राम चोक, क्रीमसन अस्पताल हुँदै मेला सचिवालयमा पुगेर समापन हुनेर उत्कृष्ट झाकी प्रदर्शन गर्ने समुहलाइ प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कारको ब्यवस्था गरिएको संयोजक पान्डेको भनाइ छ ।


मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पान्डेले बताए ।प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिए ।


प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ ।मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया रहने छन ।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने आयोजकले बताएका छन् ।मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।


मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, संचारकर्मी, समाजसेवी एवं आमनागरिकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुनेमा संघले बिश्वास लिएको सचिवालय तथा मंच ब्यवस्थापन समिति संयोजक ज्ञानेन्द्र कार्किले बताए ।




कमेन्ट गर्नुहोस्