लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गाई तिहार : सोमबारे औंसी

IMG

गौमाताको महत्त्व:

सनातन ग्रन्थहरू बाट ब्रह्मा, विष्णु र शिव तिन वटै देवताहरूले आत्मसाथ गरेको र उच्चारण गरेको यस श्लोकले गौमाता को महत्त्व प्रकट गरेको छ ।


त्वं माता सर्व देवानां त्वं च यज्ञस्य कारणम् । त्वं तीर्थ सर्वतीर्थानां नमस्तेस्तु सदानधे ।


हे पाप नाशकर्ता, सबै देवताहरूको माता, हरेक यज्ञ को कारण सबै तीर्थहरू मध्ये, तपाईँ सबैभन्दा पवित्र , म तपाईँलाई नमन गर्दछु।


मनु संहिता पाठ ४ श्लोक १६२

एउटा गुरु, शिक्षक, माता, पिता, ब्राह्मण, गाई र योगीलाई मार्नु हुँदैन ।

ब्राह्मणलाई कुनै जात विशेष नभईकन ब्रह्माण्डको ज्ञान राख्ने चेष्टा भएको र ब्रह्मत्वको महत्त्व बुझ्न चाहने जोकोहीलाई ब्राह्मणका रूपमा राख्न चाह्यौँ ।


वेदले गौमाताको बारेमा के भन्छ ?

वेदका अनुसार गाईलाई विश्वव्यापी प्रतीक मानिन्छ


अथर्ववेद अनुसार गाई भित्र ३३ करोड देवताहरूको वास हुन्छ । भगवान् श्रीकृष्णले गाईको दिव्य रूपको वर्णन गर्दै ‘धनूनामस्मि कामधुक’ भन्नुभएको छ ।


अर्थवेद १ को १६ को १४

यदि नो गां हमि यद्यश्वं यदि पूरुषम् ।

तं त्वा सीसेन विध्यामो यथा नोऽसो अवीरहा ॥

यदि कसैले हाम्रा गाई, घोडा वा मानिसलाई नष्ट गर्छ भने उ पापको भागीदार र सजायको भोगी हुन्छ ।


यस्ता अनेक श्लोकहरूले गौ रक्षा र अहिंसाको पैरवी गरेका छन् । आज गाई तिहारको यो विशेष अङ्कमा गौमाताको स्नेहमा यी श्लोकहरू समर्पण गर्न चाहेँ ।


गाई पूजा

आज तिथि अनुसार गोवर्धन पूजा र हली तिहार चाहिँ परेन यद्यपि आजको दिनमा गाई को पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरूमा हिउँदको सुरुवातसँगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरू बाहिर निकालेर हली तिहारका दिन पूजा गर्ने चलन छ र यो पूजा भोलि गरिनेछ ।


आज चाहिँ कृषि कर्ममा सहयात्रा गर्ने जीवहरू गाईको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोक उक्तिमा पाइन्छ । गोवर्धन पूजा भोलि परेका हुनाले गाई गोरु पूजा भोलि पनि गरिन्छ ।


गाई र माई भन्ने उखान भारतवर्षमा खुब प्रचलित छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान पनि गरिन्छ ।


स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा उर्जा र पवित्रता दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन अर्थात् डोरो खोलेर गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।


देउसी

आजको दिनको अर्को व्यापक रौनक हो , देउसी । हिजो भैलेहरुको भाका अनि आज देउँसेहरुको भाका । हुन त कोरोना त्रास र स्वास्थ्य सङ्कटका कारण यस वर्ष यी रमाइला कुराहरू थाती नै रहने भए तर अर्को वर्षको रौनक अनि बितेका वर्षको यादमा हामी सम्झना बिर्सना गरिरहन्छौं ।


अनि तपाईँको के छ त योजना रु जाने हैन त देउसी खेल्न ?


वलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरूको यो साङ्गीतिक दस्ता जसलाई देउसी भनिन्छ अनि यिनीहरूले गाउने अनि प्रस्तुत गर्ने साङ्गीतिक कोसेली, जसलाई देउसी भनिन्छ ।


देउसीमा एक जना भट्ट्याउने व्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यी भट्ट्याउने व्यक्ति जानकार हुन जरुरी छ । केही देउसीका सर्वप्रिय भाकाहरू बाहेक धेरै अन्य पक्तिंहरु परिस्थितिपरक हुन सक्छन्, कहिलेकाहीँ देउसीको अपेक्षाअनुरूप देउसीको दक्षिणा नपाउँदा चाहिँ


यो घर हेर्दा सिँहदरवार जस्तो

आँगन हेर्दा टुँडिखेल जत्रो

दक्षिणा हेर्दा माग्नेलाई जस्तो

आदिजस्ता पक्तिंहरु अनि

केराको थम्बा

हामी यति जना भाइ जम्मा

झिलिमिली झिल्ला

ताते रोटी मिल्ला जस्ता पत्तिंहरु हामी मध्य धेरैको बाल्यकालसँग जोडिएको होला ।

देउसी दिएको आशिषले साच्चीकै विशेष मान्यता राख्दछ,

यसपाला आउँदा जस्ताको छाना

अर्को साल आउँदा पक्काको छाना

त्यसपछि आउँदा चाँदीको छाना

त्यसपछि आउँदा सुनको छाना

यो घरैका केटा केटी


दुवो मौलाजस्तै मौलाइमा रहुन् जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भिक छन् । वास्तवमै हामी सबैलाई देउतेले दिएको आशिष् लागोस्, सद्भाव बढोस् । आजको दिन रिस राग सबै भुलेर छरछिमेकको घरमा देउसी खेल्न जाने र सद्भाव बढाउने चलन छ । देउसीबाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने या बाँडेर लिने या वनभोज जाने पुरानो रीति नेपाली समाजमा पुस्तौँ पुस्ताले दोहोर्‍याइरहेको छ । आजको दिनको हार्दिक शुभकामना ।


सोमबारे औंसी

९० सालको महाभूकम्प र सोमबारे औँसीको किस्सा

सोमबारे औँसीको एउटा प्रसङ्ग गएर विसं १९९० सालको माघ २ गतेको महाभूकम्पसँग गएर ठोकिन्छ, आउनुहोस् आज विसं १९९० को महाभूकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औँसीको सन्दर्भ जोडौँ । विसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औँसी परेको थियो । त्यस दिन सोमबारे औँसी थियो। अनि त्यस दिन बेलुका मकर राशिमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, शनि र राहु एउटै राशिमा थिए।


आज पनि सोमबारे औँसी हो। महाभूकम्प पछि सोमबारे औँसीलाई त्रास अनि भयका साथ पनि हेरिन थाल्यो, तर त्यसो हैन, सोमबारे औँसीको महात्मै अनि महत्त्व सदियौँ देखि अविच्छिन्न अनि अटुट छ ।


यो पर्व स्नान या भनौँ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्थलमा टाढा टाढाबाट भक्तजनहरू धाउने गर्दछन्। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन "सोमबारे औँसी" को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात् सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।


पौराणिक कालमा सोमबारे औँसी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलियुगको सुरुवात सँगै धर्तीमा सोमबारे औँसीका तिथिहरू बढ्दो पर्न थाल्यो । कलियुगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औँसीहरू परेको बताइन्छ । ल है यस सोमबारे औँसीमा धर्म अनि उदारताका लागि के गर्ने, सोच्नुभएको छ नि ?


जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औँसी। तर सोमवार र औँसी मात्रको संयोग भने कहिलेकाहीँ मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औँसी पर्दछ।


हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान् शिवजी मै समर्पित छ।


कमेन्ट गर्नुहोस्