लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उपभोग्य वस्तुुमा चरम मूल्य वृद्धि, अनुुगमन फितलो

IMG

तिलोत्तमा, असोज २७ गते २०८०। पूर्वी नवलपरासीमा दशैको मुखमा ब्यापारीले उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर बिक्री गर्दा समेत कहीँकतैबाट पनि कुनै चासो नदिंदा सर्वसाधारण मर्कामा परेका छन् ।अहिले पूर्वी नवलपरासीमा दशैको मुुखमा बिगत दुुई महिना यताकै चरम मूल्यवृद्धि भएको छ । दैनिक खाद्य वस्तुमा भएको चरम मूल्यवृद्धिले उपभोक्ता देखि सर्वसाधारणको यो पटकको दशै निक्कै महँगो हुुने भएको उपभोक्ता मञ्च नवलपरासी पुर्वका सदस्य तिलक जैसीले बताए ।अहिले पनि बिगत दुई महिनाको अवधिमा हरेक वस्तुको ४० प्रतिशत देखि ६० प्रतिशत सम्म मूल्य बृद्धि भएको छ । यो बिगत दश वर्षको तुलनामा चरम मूल्य वृद्धि भएको देवचुलीका निलकण्ठ पोखरेलको भनाई छ । अहिले पनि चिनीमा सबै भन्दा बढी कालाबजारी भैरहेको छ भने दाल, खाने तेल, मसला, चामल, प्याज, लसुुन लगायत दैनिक उपभोगका हरेक सामानमा चरम मूल्य वृद्धि भैरहेको गैंडाकोटका स्थानीय कान्ती कुँवरले बताईन् ।


अहिले बजारमा सोना मन्सुली चामलको प्रतिकिलो रु एक सय कायम भएको छ जुन दुई महिना अघि प्रतिकिलो रु ७६ कायम थियो । यसैगरी दुई महिना अघि प्रतिकिलो रु १४० पर्ने मसुरोको दाल अहिले रु २२० मा बिक्री भैरहेको छ भने चिनीको खुद्रा मूल्य प्रतिकिलो रु १३० मा उपभोक्ताले खरिद गरेर खान बाध्य भएका छन् । दाल, चिनी, मसला, तेल, चामल लगायत बिभिन्न खाद्य उपभोग्य वस्तुमा दशैंको मुखमा यसरी अचाक्ली मूल्य बढेका कारण कसैले पनि यसको नियन्त्रणमा चासो नदिंदा अझै मूल्य बढ्न सक्ने उपभोक्ताहरु बताउँछन् ।यसरी हरेक चाडपर्वमा हुने कालाबजारी गर्नेहरुमाथि कारबाही गर्ने निकाय नै मौन रहँदा सबैभन्दा बढी मारमा सर्वसाधारणहरु पर्ने गरेका गैंडाकोटका अधिकारकर्मी एकदेव रिमालले बताए ।


अहिले बजारमा किनमेल गर्नेहरुले मूल्य वृद्धि हुँदा सबैलाई झस्काएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले अनुगमन आज आइतबारदेखि कडाईका साथ शुरु गरिने र लेवलिङ गरेको भन्दा बढी रकम लिएर उपभोग्य सामान बिक्री गरेको पाईएमा कारबाही गर्ने बताईन् ।सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला अनुगमन समितिले अनुगमन गर्ने गरे पनि त्यो प्रभावकारी बन्न सकेको छैन । प्रभाबकारी हुन नसकिरहेको अवस्थामा भने आजदेखि थप कडाईका साथ अनुगमन गर्ने र कृत्रिम अभाव देखाउने, मूल्य वृद्धि गराउने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताईन् ।मूल्य वृद्धिले हरेक निम्न आय भएका सर्वसाधारणको ढाड सेकिएको छ । “महँगोमा तिरेर भए पनि पेट भर्नका लागि सामान किन्न पर्दो रहेछ”– गैंडाकोटका रविन्द्र अधिकारीले भने । हरेक सामानको मूल्यमा भएको वृद्धिलाई रोक्न सम्बन्धित निकाय असफल भएको उनले बताए ।मूल्य वृद्धि भएको तर्फ जिल्ला प्रशासनको गम्भीर ध्यानाकर्षण भएको र प्रशासनका तर्फबाट कडाईका साथ अनुगमन गरी सर्वसाधारण ठग्ने जो कसैलाई पनि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताईन् ।

कमेन्ट गर्नुहोस्