
डा. तपेश्वरलाल कर्ण // विराटनगर । नवजात शिशु बिक्री गरेको आरोपमा
पक्राउ परेका डा. तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका
लागि कारागार चलानको आदेश दिएको छ ।जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद
दाहालको इजालशले डाक्टर कर्णसहित कटहरी ४ का सूर्यनारायण राजवंशी र भोजपुरको
हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय
गोविन्द राईलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो
। राई विक्री भएको नवजात शिशुको
बुबा र राजवंशी डाक्टर कर्णबाट बच्चा खरिद गरेका व्यक्ति हुन् ।नवजात शिशु
बेपत्ता पारेको आरोपमा ६ जना विरुद्ध
अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूरमा मुद्दा दायर भएको थियो । तीन
जना धरौटीमा छुटेका छन् ।
मोरङ कटहरी गाउँपालिका – २ आदर्श टोलकी ३३ वर्षीय सुधा भन्ने सुक्री राजवंशी २ लाख
धरौटीमा छुटेकी छन् । सिरहाको कल्याणपुर नगरपालिका – १२ की ३८ वर्षीय नर्स निर्मला
यादव १ लाख र सूर्यनारायणकी आमा ४७
वर्षीय दिलमनीदेवी राजवंशी १० हजार
धरौटीमा छुटेको जिल्ला अदालत मोरङका सूचना
अधिकारी ओम सुवेदीले जानकारी दिए ।जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार ६ जना
प्रतिवादी विरुद्ध अपहरण तथा व्यक्ति
बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको
थियो । प्रहरीले बच्चा बिक्री प्रकरणमा अस्पतालका अध्यक्ष कृष्ण खवासलाई मतियारमा
मुद्दा चलाउने राय दिएको थियो । तर सरकारी वकिलको कार्यालयले उनलाई मुद्दा नचलाउने
निर्णय गरेको थियो ।
भोजपुरका २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीय
प्रेमिकाको सम्बन्धबाट १४ असारमा ग्रिनक्रस अस्पतालमा शिशु जन्मिएकी थिइन् ।
शिशुलाई बुबाले लैजान नचाहेपछि डाक्टर कर्णाले सुक्री मार्फत ग्राहक खोजेर बिक्री
गरेका थिए ।बुबाले स्वीकार गर्न
नमानेपछि ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई
डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख
रुपैयाँमा बिक्री गरेका थिए ।बच्चा खरिद गर्ने राजवंशीसँग पाँच लाख रुपैयाँ लिएका
डाक्टर कर्णले बच्चाको व्यवस्थापनका लागि
अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएका थिए ।युवतीले ‘नर्मल डेलिभरी’मार्फत
ग्रीनक्रस अस्पतालमा असार १४ गते नवजात शिशु (छोरी) जन्माएकी थिइन् । बच्चाकी
आमाले ३२ साउनमा मोरङ प्रहरीमा किटानी
जाहेरी दिएकी थिइन् ।अनुसन्धानबाट डा. तपेश्वरले निसन्तान दम्पतीलाई ५ लाख रूपैयाँ
शिशु बिक्री गरेको पत्ता लागेको थियो ।
गायव पारिएको ५४ दिनपछि प्रहरीले शिशुलाई मोरङको कटहरी–२ आदर्श टोलबाट गत भदौ ५
गते जीवितै उद्धार गरेको थियो ।
कमेन्ट गर्नुहोस्