
तिलोत्तमा सिटी,असोज २१ गते । प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा शनिबार बेलुकीदेखि नै चुलो बलेको छैन ।इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका छोरा २२ वर्षीय प्रविण डाँगीसँग सम्पर्क टुटेपछि उनको परिवार बेचैन छ । आक्रमणमा छोरा प्रविण गोली लागेर घाइते भएको खबर सुनेपछि त झन् बाबु निमबहादुरको हेसो हवास नै छैन । उनी युद्धग्रस्त क्षेत्रमा घाइते छोरासँग सम्पर्क हुने आशमा घरी मोबाइल हेर्छन् । घरी इजरायलमा भएको आक्रमणबारे आइरहेका समाचार ।
गत भदौ २६ गते बिएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्यनका लागि इजरायल गएका थिए, प्रविण ।शनिबार आक्रमण भए लगतै बिहान ११ बजे छोरासँग उनको सम्पर्क भएको थियो । ‘मर्ने भएँ बुवा, बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो’ निमबहादुरले छोरासँग भएको संवाद पत्रकारसामु सुनाए । प्रविणले त्यसो भनेको बेला घरका सबै सदस्यसँग आधा घण्टा कुरा गरे । त्यसपछि छोरासँग उनको सम्पर्क हुन पाएन ।आइतबार बिहान १२ बजे निमबहादुरको पुन प्रविणसँग सम्पर्क भयो । ‘दुईवटा खुट्टामा गोली लागेको छ, एउटा खुट्टा छिया छिया भएको छ रे, अस्पतालले पनि हेरको छैन रे’ छोराको खबरबारे सुनाउदा सुनाउँदै निमबहादुरको गला अवरुद्ध भयो ।
सात समन्द्रपारी घाइते भएको छोराको खबरले विक्षप्त भएका निमबहादुर त्यसपछि बोल्न चाहेनन् ।आइतवार छोरा प्रविणसँग निमबहादुरको सम्पर्क हुँदा दंगीशरण गाउँपालिका ३ हेकुलीका वडाध्यक्ष सुकलाल चौधरी सँगै थिए । उनले प्रविण र उनको परिवारसँग भएको कुराकानीबारे अनलाइनखबरलाई बताए । उनका अनुसार आज दिउँसो प्रविण र बाबुबीच करिब दुईदेखि तीन मिनेट भिडियो कल भएको थियो ।फोनमा भएको कुराकानीमा प्रविणले आफू अस्पतालमा रहेको र दुईवटा खुट्टामा गोली लागेको बताएका थिए । ‘भिडियो कलमा कुरा गर्दा उनी अस्पतालको बेडमा पल्टिएका थिए । नाकमा पाइप लगाइएको थियो । खुट्टामा गोली लागेको छ, एउटा खुट्टा भाचिएको छ भन्थे’, वडाध्यक्षले बताए ।
वडाध्यक्ष चौधरीका अनुसार प्रविणले आफ्नो खुट्टाको घाउ भिडियोमा देखाउन कोशिस गर्दै थिए । त्यसैबेला एकजना नर्स आइन् र फोन सम्पर्क टु्टयो । त्यसयता प्रविणसँग पुनः सम्पर्क भएको छैन ।प्रविणले आफ्नो अगाडि दुई जना नेपालीको शव देखेको बताएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।परिवारले प्रविणका बारेमा छिटो भन्दा छिटो सरकारले राजदूतावासमार्फत सम्पर्क गरेर वास्तविक अवस्था पत्ता लगाइदिन आग्रह गरेका छन् । छोरा घाइते भएको खबर पाएका उनको परिवारले सुरक्षित स्थान लगेर उपचार गरि ज्यान बचाईदिन र उद्धार गरिदिन माग गरेका छन् ।निमबहादुरका तीन भाइ छोरा छन् । प्रविण कान्छा छोरा हुन् । अरु दुई छोरा साउदी र कुवेतमा छन् । घरमा निमबहादुर सहित उनकी श्रीमती, बुहारी र एकजना नातिनी छन् ।
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।आक्रमणमा नेपालीहरु पनि परेका थिए । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् ।राजदूत रिजालले अनलाइनखबरलाई बताएअनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।
गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।राजदूत रिजालले अनलाइनखबरसँग भनिन्, ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका छौं । बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्न प्रयासरत छौं ।’आइतबार विहान मात्र परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।
उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमण्ममा परेको भन्दै परराष्ट्र मन्त्री साउदले भनेका थिए, ‘१२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’आइबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन भएको छ । समन्वय संयन्त्रले नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्दारसम्बन्धी निर्णय गर्ने लगायतका सम्पूर्ण कायहरु गर्नेछ।‘संयन्त्रले घटनाको निरन्तर अनुगमन, वस्तु स्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोगका सम्पूर्ण कार्यहरू गर्नेछ’, प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णमा उल्लेख गरिएको छ ।
संयन्त्र गठन भएलगत्तै परराष्ट्रमन्त्री साउदले नेपालस्थित इजरायली राजदूतसँग भेट गरेका छन् भने इजरायली सरकारका अधिकारीसँग टेलिफोन संवाद गरेका छन् । ‘इजरायली सरकारसँग कुराकानी भइसकेको छ । उहाँहरूले नेपालीहरू फर्किनका लागि विमानस्थलको सहजिकरण गर्ने, भिडन्त भएको क्षेत्रभन्दा बाहेकका विमानस्थलबाट नेपाल ल्याउने कुरामा उनीहरूलाई नेपालको दूतावाससँग कुराकानी गरेर सहयोग गरिदिने बताएका छन्’, मन्त्री साउदले भने ।नेपालीलाई सुरक्षित राख्नका लागि कोशिष भइरहेको भन्दै उनले अघि भने, ‘थप क्षति नहोस् भनेर हामीले अनुरोध गरेका छौँ । त्यस्तो भएको खण्डमा दूतावाससँग सहकार्य गरेर ल्याउने भनेको छ ।’इच्छुकलाई फिर्ता ल्याउनका लागि विमानस्थल खुला रहेको र अप्ठ्यारो भए दूतावासले समन्वय गर्ने उनले बताए । ‘घटना भएको स्थलमा धेरै ठूलो हताहती भएको देखिन्छ । तर द्वन्द्व सीमित ठाउँमा भएको छ’ उनले भने, ‘त्यहाँ रहेकाहरु नेपाल आउन चाहन्छन् वा चाहाँदैनन्, त्यसअनुसार आवश्यक कदम चाल्छौँ ।’
मन्त्री साउदले त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न एवम उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवम सम्पर्क परिचालन गरेको जानकारी दिए ।परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई नेपालीको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीलाई जानकारी गराउन निर्देशन दिएको छ । नेपाली दूतावासले इजरायलमा रहेका नेपालीलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने, इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते नेपाली नागरिकको उपचारका लागि पहल गरेको मन्त्री साउदले बताए ।मन्त्री साउदले इजरायलमा रहेका नेपालीको स्थिति पहिचान गर्न नेपालीलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न उद्धार तथा सहयोग गर्न आवश्यक समन्वय र सहजिकरणको काम भइरहेको बताए ।
कमेन्ट गर्नुहोस्