लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘म आएपछि केही राम्रो कामकाे शुरूवात भएको छ’: उपाध्यक्ष डा.ल्याहरक्याल लामा

IMG

तिलोत्तमा सिटी, २०८० भाद्र २६ गते । लुम्बिनी बिकास काेषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनीमा केही राम्रो काम गरेर छाड्ने बताएका छन् ।उनले आफ्नाे कार्यकालमा गुरूयाेजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्धेश्य रहेकोे बताए ।मायादेवी नया डिजाइन र आकर्षक बनाउनुपर्ने उनको भनाइ छ । लुम्बिनीमा पत्रकारहरूसंगकाे परिचयात्मक तथा भेटघाट कार्यक्रम गर्दै उनले पर्यटककाे बसाई लम्बाउने याेजना बनाएकाे उल्लेख गरे । उनले भने -‘अब लुम्बिनीमा पूजा कार्यक्रम बढ्नेछन् ,नया तीनवटा पुजा थपिएको छ,यसणले थुप्रै पर्यटक आउनेछन् ।’


‘म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिन’ उनले भने । उनले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरू उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।संविधानसभा सदस्य, पूर्व अर्थ राज्यमन्त्री समेत रहेका डा. लामाले आफ्नो क्षमतालाई लुम्बिनी बनाउन खर्च गर्ने बताए । उनले आफूले जीवन नै बुद्ध धर्मका लागि अर्पण गरेको बताउँदै बाँकी रहेको जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन आफू लुम्बिनीको उपाध्यक्ष बनेको बताए ।


उपाध्यक्ष लामाले गुरुयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताउँदै त्यसका लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँग परामर्शमा गरिने बताए । ‘४५ वर्षअघि केन्जो टाँगेले बनाएको योजना हो, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ’, उनले भने ।उनले बुद्धजन्मस्थल लुम्बिनी वरिपरिका स्थानीयहरुलाई अपनत्व बनाउने गरी काम गर्ने समेत बताए । उनले यसका लागि प्रत्येक महिना स्थानीय समुदाय, संघसंस्था, पत्रकारहरुको संस्था समेतको उपस्थितीमा छलफल गर्ने बताए । उनले लुम्बिनी विकास कोषले रामग्राम, तिलौराकोट र देवदहलाई बढि केन्द्रीत गरी योजना बनाएर काम गर्ने समेत बताए ।


उनले जिम्मेवारी समाल्ने वितिकै रामग्राम र त्यसपछि तिलौराकोट पुगेको बताउँदै बुद्धजन्मस्थल मात्रै केन्द्रीत नहुने बताए । उनले बोर्ड सदस्यहरुलाई पनि जिम्मेवारी प्रदान गरेर सामूहिक रुपमा अघि बढ्ने योजना रहेको बताए । पदाधिकारी र कर्मचारीविच नै बेमेल रहेको भन्दै पत्रकारहरुको जिज्ञासामा सकभर मिलाएर लैजाने कोसिस रहेको बताए । ‘नमिल्नुपर्ने कुनै कारण छैन, ऐनले जिम्मेवारी स्पष्ट तोकेको छ, त्यही अनुसार अगाडि बढ्ने हो’ उपाध्यक्ष लामाले भने ।उनले सबैको साझा सहयोगले मायादेवि मन्दिर, बुद्व सर्किट बनाउने गरि अगाडि बढने बताए । उनले कर्मचारीहरुले लुम्बिनी बनाउनका लागि धेरै काम गरेको बताउँदै केही कमजोरीलाई सुधार गर्दै जाने बताए । उनले कार्यालयमा कुर्चि खाली नराख्न निर्देशन दिईसकेको समेत बताए ।


उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी बनाउने सन्दर्भमा सिंगो टिमको साथ सहयोग रहने बताए । उनले लुम्बिनी विकास कोषले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम दुई जना उपाध्यक्षको भिजन अनुसार आएको बताए । सदस्य सचिव शाक्यले प्राचिन शाक्य गणराज्य कपिलबस्तुको तिलौराकोट दरवारलाई विश्व सम्पदा सूचीमा सूचीकरणको तयारी भइरहेको समेत बताए । उक्त अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नवलपरासीका अध्यक्ष हरि शर्मा, कपिलबस्तुका अध्यक्ष किरणमान ब्रज्रचार्य सहित पत्रकारहरुले लुम्बिनीका बिषयमा प्रश्न र सुझाव राखेका थिए ।

पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य नेत्रबहादुर शाही, विश्वराज पौडेल, परिषद सदस्य गोपिकृष्ण शर्मा, श्रीराम यादव, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम प्रेस कन्सल्ट्यान्ट विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्