लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका शिक्षक जिल्ला संयोजक भएको भन्दै रास्वपा रुपन्देहीमा विवादपछि कुटपिट : प्रहरीमा पुग्यो मुद्दा, दुवै पक्षका यस्ता छन् आरोप

IMG

तिलोत्तमा, साउन १, २०८०। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको विवाद सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको छ । पार्टी बिधानको धारा १३ (ङ)मा सरकारी विद्यालयमा पढाउने ब्यक्ति कुनै पनि पदमा नरहने ब्यवस्था रहेको भए पनि जिल्ला संयोजक प्रकाश ज्ञवाली रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं-१७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयमा पढाउने शिक्षक भएको र उक्त कुरा उठाउँदा आफूमाथि कुटपिट भएको घटनालाई उदृत गर्दै एक नेताले बताए।प्रदेश उपसभापति शालिकराम घिमिरेले क्षेत्रीय निर्वाचनमा पदीय मयार्दा बिपरीत मतदातालाई प्रभावमा पारी मतदाताको मोबाइलबाट आफैले मत हाल्नेसम्मको कार्य गरेको र सो कुराको बिरोध गर्दा षडयन्त्रपूर्वक आफ्नो सदस्यता खारेज गर्ने र कुटपिट गरिएको उनको आरोप छ ।


आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको सतहमा आएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैनामैना र्यापिट एक्शन टिम संयोजक दामोदर खत्रीले बिधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने आवाज उठाउँदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतको समूहले राति ९ बजेको समयमा पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको र उल्टै आफू बिरुद्ध कुटपिटको उजुरी दिएको गुनासो गरेका छन् ।


उनले शनिबार बुटवलको बेलबासमा पत्रकार सम्मेलन गरी पार्टीलाई बिधान अनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली,क्षेत्रीय सदस्य तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरुको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको आरोप लगाएका छन् ।


गत बुधबार राती आफूलाई पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाई प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली र क्षेत्रीय सदस्य तिवारीको समूहले आगामी मंसिरमा हुने अधिवेशनमा नेतृत्व हत्याउन बिभिन्न खाले प्रलोभन देखाएको र आफूले बिधानको कुरा उठाउँदा बिवाद उत्पन्न भएपछि आफू बाहिर निस्किएको र पछि उनीहरु पनि बाहिर आएर आफूमाथि आक्रमण भएपछि आफूले प्रतिरक्षा मात्रै गरेको दावी उनले गरे ।आफूमाथि कुटपिट भए पनि पार्टीभित्रको कुरा भनेर प्रहरीमा उजुरी नगरेको तर उनीहरुले उल्टै आफू बिरुद्ध उजुरी दिएको उनको भनाइ छ ।भर्खरै गठन भएको पार्टीमा गुटबन्दी गर्न नहुने र पार्टीलाई बिधान अनुसार चलाउनुपर्छ भन्दा उल्टै कारबाही गर्ने र स्थापनाकालदेखि निस्वार्थ रुपमा पार्टीमा लागेका ब्यक्तिलाई तँ सदस्नै होइनस् भनेर कुटपिटमा समेत उत्रिने नेतृत्व रहेसम्म संगठन बलियो हुन नसक्ने निस्कर्षकासाथ आफू आजैदेखि पार्टीमा नरहेको घोषणा उनले गरे ।इप्रका बुटवलका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले मुद्दा दर्ताको माग गर्दै निवेदन आएको बताउँदै दुवै पक्षलाई आइतबार बोलाइएको जानकारी दिए ।


‘पार्टीका आन्तरिक विषयमा झगडा गरेको उहाँहरुको दुवै पक्षको भनाइबाट बुझ्न सकिन्छ, दुवै पक्षलाई भोलि बोलाइएको छ, एक पक्षले अर्को पक्षलाई आरोप लगाउने र मुद्दा दर्ता गर्न भनेको अवस्था हो, आइतबार छलफलपछि के गर्ने टुंगो लाग्ला’ उनले भने ।रास्वपामा रुपन्देही संयोजक प्रकाश ज्ञवालीले पार्टीको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई निराधार आरोप लगाउने दामोदर खत्री कुनै जिम्मेवारीमा नरहेका र पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएपछि साधारण सदस्यबाट हटाइसकेको बताए ।’उनी कुनै जिम्मेवारीमा थिएनन्, आफै सैनामैनाको संयोजक भनेर घोषणा गरेका रहेछन्, अहिले उनी साधारण सदस्य पनि छैनन्, त्यस्ता व्यक्तिले लगाएको आरोप निराधार हो, उनले पार्टीका साथीहरुमाथि हातपात गरेपछि हामीले इप्रकामा मुद्दा दर्ता गराएका हौं, अब त्यसको जवाफ त्यही आउला’ उनले भने । 

कमेन्ट गर्नुहोस्