लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा ५ महिनामा ४ लाख ७० हजारभन्दा धेरै पर्यटक तथ्यांक सार्बजनिक

tillotmacitynews - 2023 Jun 06 08:35 AM
IMG

तिलोत्तमा सिटी । जेठ २३ गते । धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीमा भारतीय र तेस्रो देशका पर्यटक आउने क्रम बढ्दै गएको छ । लुम्बिनीमा अहिले आन्तरिक पर्यटकको पनि चहलपहल छ । पछिल्लो पाँच महिनामा लुम्बिनीमा चार लाख ७० हजारभन्दा धेरै पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे महिनासम्म चार लाख ७० हजार पाँच सय ४२ जना पर्यटक लुम्बिनी भित्रिएका हुन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गएको वर्षभन्दा यस वर्ष भित्रिएका पर्यटकको सङ्ख्या एक लाख आठ हजारभन्दा धेरै रहेको छ । गएको जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चार सय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेको तथ्याङ्क छ ।



पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार दुई सय ४७, श्रीलङ्काका पाँच हजार सात सय २१, म्यानमारका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाका दुई हजार छ सय २९, चीनका एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना नागरिकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । कोरोना महामारीको बेला सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना राहदानी लिएका नागरिकले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनीमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायलाई पनि राहत पुगेको पर्यटन व्यवसायी सङ्घ लुम्बिनीका अध्यक्ष हुसेनी लोधले बताउनुभयो ।


कमेन्ट गर्नुहोस्