
तिलोत्तमा सिटी १६ बैशाख २०८०। आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । रुपन्देहीमा आज बिहानै देखि बादल लागेको छ । रुपन्देहीमा बादल लागेपनि बर्षको सम्भावना भने निकै कम रहेको मौसम बिज्ञान विभागले जनाएको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी दिउँसोपछि पहाडी र तराईका केही क्षेत्रमा मेघगर्जन र हावाहुरीको सम्भावना देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ । दिउँसोपख काठमाण्डौमा छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । आज बिहान गण्डकीका केही क्षेत्रमा हल्का वर्षा भएको थियो । देशका धेरै ठाउँमा भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ । प्रि–मनसुन भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्