लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा‘रोजगार सूचना मेला’ सम्पन्न , रोजगारी र सिपका लागि ३ हजार जनाले फारम भरे

tillotmacitynews - 2023 Mar 18 10:00 PM
IMG
तिलोत्तमा,२०७९ चैत्र ४। युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘वृत्ति मार्ग निर्देशन’ र ‘रोजगार सूचना मेला’ भएको  छ । मेलामा युवा तथा सहभागी गरि पाँचहजार जनाले अवलोकन गरेका छन् भने त्यसमध्ये तीन हजार जनाले बायोडाटासहित फारम भरेको तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले जानकारी दिनुभयो ।मंगलापुरस्थित रामजानकी मन्दिरको मैदानमा भएको मेलामा स्थानीयहरुले आफ्नो बायोडाटा,नागरिकता,फोटो र सर्टिफिकेटसहित सहभागिता जनाएर फारम भरेका थिए।

रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने मेलाले सहयोग गरेको नगरप प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । सहभागिता र स्टलका लागि शुल्क राखिएको थिएन ।रोजगार मेलामा विभिन्न रोजगार दाताका ४० बढी स्टल रहेका थिए ।‘हामीले तिलोत्तमा नगर क्षेत्रमा रहेका रोजगार दाता तथा व्यावसायिक सङ्घसंस्थासँग सहकार्य गरेर यो मेला आयोजना गरेका हौँ,यो एउटा चौतारी जस्तो हो,यस्का अनेकौँ फाइदा छन,लाभ लिनुहोला । ’मेला शुभारम्भ गर्दै प्रमुख खाँणले भन्नुभयो ।

स्टलहरुमा सहभागीहरुले मेलामा पुगेका दर्शकलाई  उनीहरुको रुची, क्षमता र चाहना अनुसारका रोजगारीको ग्यारेन्टी गरिनेछ भने उनीहरुलाई करियर काउन्सिलिङसमेत गरेका थिए । मेलामा सीपमूलक तालिमको अवसरहरुको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी गराइएको उपप्रमुख जागेश्वरीदेबी चौधरीको भनाइ छ ।तिलोत्तमा नगर क्षेत्रका युवायुवतीलाई स्वदेशमै रोजगारी दिने नीति अनुरुप मेला गरिएको उहाँको भनाइ छ ।‘औद्योगिक तथा व्यावसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ति गरिने छ,भने आवश्यकताको आधारमा राजगारी ग्यारेन्टी गरिने छ ’उहाँले भन्नुभयो ।

युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका बेला जनशक्ति अभावको समस्या समाधानमा मेला सहयोगी बनेको नगरपालिकाका कार्यकारी अधिकृत नारायण अर्यालले बताउनुभयो । उहाँले सोचेभन्दा धेरै सहभागिता भएकाले कार्यक्रमको सार्थकता रहने उल्लेख गर्नुभयो ।सो समुद्घाटन कार्यक्रममा आगन्तुकलाई स्वागत गर्दै मेलाका सह संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवायुवती र रोजगारदातालाई जोड्न पुलको काम गरेको बताउनुभयो।  आशा बोकेर आएका तिलोत्तमका नागरिकले नगरपालिका माथि गरेको बिश्वास र अहिलेको बेरोजगार समस्याको निराकरण गर्न यस्तो मेलाले ठुलो भूमिका खेल्ने समेत बताउनुभयो। मेलामा सहभागी युवाहरुले रोजगारीका लागि गरिएको यस क्षेत्रको पहिलो मेलाले युवाहरुमा आशा पलाएको बताउनुभयो। मेलाका कारण रोजगारी मिल्ने आशा रहेको सहभागि तिलोत्तमा-२ का शंकर पौडेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्