लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तर्राष्ट्रिय चार्टर्ड उडान अब गौतमबुद्ध विमानस्थलबाट गर्नुपर्ने

tillotmacitynews - 2022 Nov 01 11:58 PM
IMG

तिलोत्तमा, २०७९ साल १६ कार्तिक। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अन्तर्राष्ट्रिय चार्टर्ड उडान अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको छ। अहिलेसम्म यस्ता उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको थियो।गत जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा प्रयोगमा ल्याउन प्राधिकरणले यस्तो निर्णय गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।उनका अनुसार कूटनीतिक चार्टर्ड उडान, कार्गो उडान र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने छन्।


प्राधिकरणले यही कात्तिक १३ गतेदेखि लागू गरेको हिउँदे उडान तालिकाअनुसार चार्टर्ड उडानसँगै काठमाडौंबाट हुँदै आएका हरेक तीन उडानमा एक उडान समेत भैरहवाबाटै हुने भएको छ। विदेशबाट आउने चार्टर्ड उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकिएको छ।प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई हिउँदे उडान तालिकाअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिएको छ।


अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन् भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले मात्र हप्ताको तीन उडान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्