लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गठबन्धनलाई बहुमत दिन गृहमन्त्री खाणको आग्रह

IMG

तिलोत्तमा, २०७९ असोज २७ गते। रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिएका गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत दिन आम मतदातालाई आग्रह गर्नुभएको छ। सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (१)मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।


गृहमन्त्री खाणले नागरिकताबिहीन नेपाली नागरिकलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत आवश्यक रहेको जिकिरसमेत गर्नुभयो। मंगलबार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारणसभामा बोल्दै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेका कारण गैर आवासीय नेपालीलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गर्नुभयो। 


गृहमन्त्री खाणले राष्ट्रपतिको सो गैर संवैधानिक कामको विरोध गरेर सो नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाब दिन गैर आवासीय नेपालीलाई अनुरोध गर्नुभयो। उहाँले  भन्नुभयो, ‘‘राष्ट्रपतिजीले यसलाई प्रमाणीकरण गर्नैपर्ने हो। पुनः पठाइएको विधेयक राष्ट्रपतिले फर्काउने व्यवस्था संविधानमा छैन। संविधान बनाउने बेलामै त्यो व्यवस्था गरिएको छ। त्यसकारण यो व्यवस्थालाई सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्छ। संविधान संशोधन गर्नका लागि दुई तिहाइ चाहिन्छ। हामीलाई मङ्सिर ४ गतेको निर्वाचनमा दुई तिहाइ दिनुस्। हामी त्यही अनुसार जान्छौँ।’


गृहमन्त्री खाँणले नेपालमा लगानी भित्र्याउन पनि गैरआवासीय नेपालीलाई आह्वान गर्नुभयो। गैर आवासीय नेपालीको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने बताउनुभयो। विदेशमा रहेका हरेक नेपालीको लगानीको स्वागत गर्ने, प्रोत्साहन गर्ने र त्यसको सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारको रहेको पटकपटक दोहोर्‍याउनु भयो।


उहाँले भन्नुभयो, ‘‘नेपालमा केही न केही लगानी गरिदिनोस् भन्ने हाम्रो आग्रह छ। लगानीलाई स्वागत गर्ने, लगानीलाई प्रोत्साहन गर्ने, लगानीको सुरक्षा गर्ने र बन्दोबस्त गर्ने काम सरकारको हो। संसारभर नै राज्यको पहिलो दायित्व हुन्छ। नेपाल सरकार सबै नेपालीको सम्पत्ति र जीवनको रक्षाका लागि प्रतिबद्ध छ। नेपालका उद्योगी र व्यवसायीको उद्योग, व्यवसाय र उहाँहरूको सम्पत्तिको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ। सरकारले कानुनी आधारशीलामा आफ्नो सुरक्षा संयन्त्रलाई सदुपयोग गरेर तपाईँहरूको लगानीलाई सुरक्षित गर्नेछ। त्यो पनि म विश्वास व्यक्त गर्नु चाहन्छु।’


गृहमन्त्री खाणले सरकारले गैर आवासीय नेपालीको लगानीको सुरक्षाका लागि सुरक्षाकर्मीको आवश्यक परिचालनको व्यवस्था मिलाउने आश्वासनसमेत दिनुभयो।

कमेन्ट गर्नुहोस्