लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झरना स्पोर्ट्सको व्यवस्थापनमा‘कुञ्ज पार्क’

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १८ गते २०७९। खेलकुद क्लब भन्ने वित्तिकै कुनै खेलसंग सम्बन्धित गतिबिधि र खेल प्रतियोगिताहरु आयोजना गर्ने संस्थाको रुपमा लिने आम बुझाइ छ । वास्तविकता पनि त्यस्तै हो । तर, रुपन्देहीको एउटा क्लबले भने तिलोत्तमा नगरपालिकाको कुन्जलापूरमा लाखौं खर्चमा रमणीय पार्क बनाएर नमूना काम गरेको छ ।२०३३ सालमा स्थापना भएको जिल्लाकै पुरानो झरना स्पोर्ट्स क्लबले कुन्जलापुरमा तीन बिघा क्षेत्रफलमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा मनमोहक ‘कुञ्ज पार्क’ बनाएको हो ।एक दशकअघिसम्म कुकाठले भरिएको वन र खरबारीका रुपमा रहेको जग्गालाई क्लबले जिम्मा लिएर नमूना पार्कका रुपमा विकास गरेको छ । पार्कको बीचमा करिब एक बिघा क्षेत्रफलको पोखरी छ । त्यहाँ क्लबले एकपटकमा ४ हजार माछापालन गर्छ भने २/३ वटा डुंगा पनि संचालन गरेको छ ।


पार्कलाई सुन्दर र आकर्षक बनाउन पोखरीको वरिपरि विभिन्न प्रजातिका फूल, एउटै बिरुवाको १० हजार रुपैयाँसम्मका बुस प्लान्टहरु रोपिएको छ । चाइनिज गुलाफ, पिटोनिया, डालिया, पाउलानिया, गुल्मोहर, चेरी, क्रिसमस ट्रि ,ब्याम्बो आदि प्रजातिका बिरुवाले पार्क हरियाली र हराभरा बनेको छ ।पार्कभित्र वाटर फाउन्टेन, बाल उद्यान, सेल्फी स्पट र बस्नका लागि फाइबर कुर्सी र पक्की कुर्सीहरु राखिएको छ । पोखरीको चारैतिर राखिएका विद्युतीय बल्बको कलर लाइटिङले सांझपख पार्कको सुन्दरतालाई झनै बढाएको छ ।आँप, लिची, कटहर र रक्तचन्दनका रुख पनि पार्कभित्र छन् । वाटर फाउन्टेनमा कछुवा,जापानीज र जर्मनी जातका माछाहरु हेर्न पाइन्छ ।


तराई क्षेत्रको लोपोन्मुख काठको लडिया पनि पार्कमा राखिएको छ । पिकनिकका लागि तीनवटा सेड बनेका छन् भने गाडी पार्किङका लागि झण्डै २ कट्ठा जग्गा र पिउने पानी र कफी शपको पनि क्लबले व्यवस्था गरेको छ ।पार्कभित्र लायन्स क्लबले पनि बृक्षारोपण गरेको छ । अहिले पार्कमा घुम्न र डुंगा शयर गर्न दैनिक सरदर १५० जना आन्तरिक पर्यटकहरु आउने गरेका क्लबका कोषाध्यक्ष धनेन्द्र पौडेल बताउँछन् । ‘हिजोका दिनमा कुकाठले भरिएको उराठलाग्दो जंगल र खरबारी थियो, मान्छे आउनै डराउंथे,’-क्लबका अध्यक्ष लोक पुन भन्छन्, ‘एक दशकसम्म धेरै मेहनत र लगानीले उराठ बनलाई अहिले नमूना पार्क बनाउन सफल भएका छौं ।’रमणीय पार्क बनेपनि मुख्य राजमार्गबाट भित्र गाउंमा भएकाले नदेखिने र प्रचार प्रसार नभएकाले चाहेजति पर्यटक आगमन बढाउन नसकिएको पुनले बताए ।पार्कभित्रै चारसय वर्ष पुरानो दावी गरिएको कर्माको रुख,थारु समुदायले देवताका रुपमा मान्ने सोमै माई थान -मन्दिर) र हिन्दु धर्मावलम्वीको दुर्गा मन्दिर पनि छ ।


पार्कलाई अझै व्यवस्थित र सुन्दर बनाउन क्लबले करिब ३ करोड लागतको गुरुयोजना पनि बनाएको छ । जसमा चिल्ड्रेन पार्क, कन्फेरेन्स हल, गार्डेन, क्याफेटेरिया, प्रार्थना पोखरी, मुख्य पोखरीको वरिपरि इन्टरलक टायल बिछ्याएर पैदल मार्ग निर्माण लगायतका योजना छन् । तर, वजेट जुटाउन नसक्दा काम हुन नपाएको क्लबका संरक्षक पौडेल गुनासो गर्छन् ।क्लबले पालेका माछालाई पार्क परिसरबाटै बजार मूल्य भन्दा सस्तोमा स्थानीय गाउंलेलाई नै विक्रि गर्दै आएको छ भने आंप,लिची,कटहर लगायत फलफूल मन्दिरलाई उपयोग गर्न दिने गरेको छ । क्लबले पार्क प्रवेश शुल्क १० रुपैयां र डुंगा शयरको २० रुपैयां शुल्क कायम गरेको छ । पार्कको सरसफाइ र व्यवस्थापन गर्नर् एकजनालाई आवासीय सुविधासहितको रोजगारी क्लबले दिएको छ ।


क्लबका पदाधिकारीले हरेक महिनाको १ गते र १५ गते पार्कको नियमित सरसफाइ गर्दै आएका छन् ।पार्कबाट क्लबले वाषिर्क पांच लाख रुपैयां जति आम्दानी गर्ने संरक्षक पौडेल बताउंछन् । ‘हाम्रो उद्देश्य नाफा कमाउने होइन,खेर गएको खाली जग्गालाई सदुपयोग गरेर पर्यटकीय स्थल बनाई समुदायलाई लाभान्वित बनाउनु हो’-उनले भने ।क्लबले वर्षेनी करिब १५ लाख खर्चेर झरना कप फुटबल प्रतियोगिता गर्दै आएको छ । यो बर्ष पनि नयाँ संस्करण गर्ने तयारीमा क्लब रहेको छ । क्लबले शिक्षा, स्वास्थ्य र लागु औषध दुव्र्यसनविरुद्ध पनि काम गर्दै आएको छ ।


तिलोत्तमा नगरपालिकाको मुख्य प्रशासनिक भवन पनि पार्कको नजिकै बन्न थालेकाले अब नगरपालिकाको ध्यानाकृष्ट भइ गुरुयोजना कार्यान्वयन गर्न वजेट दिने आशा क्लबलाई पलाएको छ । बुटवल भैरहवा ६ लेन सडकको मंगलापुरबाट पश्चिम एक किलोटिर दुरीमा रहेको कुञ्ज पार्क तिलोत्तमाको महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा विकास भएकाले यसलाई थप व्यवस्थित बनाउन पर्यटकीय स्थलको सूचिमा राखेर प्रचारप्रसार गर्ने र सक्दो वजेट विनियोजन गर्न नगरपालिका तयार रहेको नगर प्रमुख रामकृष्ण खाणले क्लबको साधरण सभाको अवसरमा बताएका छन्।

कमेन्ट गर्नुहोस्