
तिलोत्तमा सिटी न्युज, भदौ १० गते २०७९। गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरको स्वामित्वमा रहेको जग्गाको पुनःमूल्याङ्कन गर्ने र सानो स्मार्ट औद्योगिक क्षेत्रको रुपमा त्यस क्षेत्रको विकास अघि बढाइने बताएका छन् ।
गृहमन्त्री खाँणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी र शुद्धोधन गाउँपालिका–३ बेननीस्थित तिनाउ पुलमा निर्माण गरिने पुलको शुक्रवार शिलान्यास गर्दै विगतमा आफूले सरकारलाई औद्योगिक कोरिडोरको नक्सा जस्ताको तस्तै पास नगर्न र जनताको चाहना सम्बोधन गरेर अघि बढ्न सुझाव दिएको बताए । उनले औद्योगिक क्षेत्रको स्वामित्वमा नेपाल सरकारले हस्तान्तरण गरेको जग्गाका कारण त्यस क्षेत्रमा वषौँंदेखि बसोबास गर्दै आएका नागरिक विस्थापित हुने, निर्माण गरिएका भौतिक पूर्वाधार काम नलाग्ने गरी खेर जाने अवस्थासमेत देखिएकाले सानो तर महत्वपूर्ण औद्योगिक क्षेत्र बनाउने बताए ।
उक्त पुल विसं २०७७ पुस २८ गते हीराचन कालीगण्डकी सिद्धार्थ जेभी, रुपन्देहीसँग रु २१ करोड १५ लाख ४१ हजार पाँच सयमा ठेक्का सम्झौता भएको र २०८० साल पुस २७ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको सडक विभाग पुल महाशाखा नेपालगञ्जले जनाएको छ । पुलको लम्बाइ दुई सय मिटर र चौडाइ ११ मिटर रहने, पुलको दुवैतर्फ वारिपारि कालोपत्रे गर्ने सम्झौतामा उल्लेख गरिएको छ । यो पुल निर्माण सम्पन्न भएपछि पनि मर्मतको जिम्मेवारी पाँच वर्षसम्म कम्पनीकै रहने छ ।
कमेन्ट गर्नुहोस्