लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२७ वर्षपछि महाकालीको पानी नेपालले पायो

tillotmacitynews - 2022 Jun 27 10:51 PM
IMG

१३ असार, काठमाडौं । नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी पाउन थालेको छ । नेपाल र भारतबीच महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले टनकपुर बाँधबाट पानी पाउन थालेको हो ।सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार भारतले पूर्वाधार निर्माण सकाएर टनकपुरबाट नेपालतर्फको भूभागमा परीक्षणका रुपमा पानी छाड्न थालेको हो ।‘पहिलोपटक टनकपुर ब्यारेजबाट हामीले पानी पाउन थालेका छौं, यो लामो समय अलमलिएको योजना थियो, टनकपुरबाट पानी पाउनु उपलब्धीपूर्ण हो,’ उनले भने, ‘यसले महाकाली सन्धि कार्यान्वयनमा थप सघाउ पुग्नेछ ।’आचार्यका अनुसार आगामी माघ १५ गते टनकपुरबाट आएको पानीबाट नेपाली भूभागमा रोपाइँ गर्ने कार्यक्रम समेत राखिएको छ । ‘बबुन र कालापानी क्षेत्रमा मूल नहरबाट पानी लगेर खेतमा रोपाइँ पनि गर्दैछौं ।’



महाकाली सन्धिअनुसार भारतले टनकपुर बाँधबाट सुख्खायाममा तीनसय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । नेपालले टनकपुर ब्यारेजबाट पाउने पानी उपयोगका लागि महाकाली सिँचाइ आयोजना (तेस्रो) तयार गरिरहेको छ ।महाकाली सन्धिले टनकपुर बाँधको बायाँतर्फ हेड रेगुलेटर (पानी नियन्त्रक संयन्त्र) सहित नेपाल–भारत सीमासम्मको नहर भारतले नै निर्माण गर्नुपर्ने उल्लेख छ । सन्धिअनुसार टनकपुर ब्यारेजबाट भीमदत्त नगरपालिका–९ मटिनाको नेपाल–भारत सीमा १२ सय मिटर नहर बनाउनुपर्ने थियो ।तर, लामो समयसम्म भारतलले यसमा अनाकानी गर्दै आएको थियो । तर, करिब २ वर्षअघि यसका लागि सहमत भएको थियो । लामो सयमको अन्तरविरोध समाधान गरेर भारतले सन्धिअनुसार आफ्नो भूभाग हुँदै नेपालसम्म जोड्ने नहर बनाउन थालेको थियो ।नेपालले सन् २०१४ मा नै यो नहर तयार गर्ने गरी आफ्नो प्राविधिक प्रस्ताव पठाएको थियो । तर, भारतीय पक्षले प्राविधिक कारण देखाउँदै निर्माणमा आनाकानी गर्दै आएको थियो ।पुस २०७७ मा तत्कालीन ऊर्जासचिव दिनेशकुमार घिमिरेको भारत भ्रमणमा सीमासम्म जोड्ने लिंक नहर भारतले तत्कालै निर्माण गर्ने सहमति भएको थियो । त्यसपछि मात्रै भारतले नहर निर्माणको काम तीव्र पारेको थियो ।


अहिले शारदा ब्यारेजबाट नेपालले पानी पाइरहेको छ । शारदा ब्यारेज कमजोर भएपछि २०४७ सालमा टनकपुरमा अर्को बाँध निर्माण गरिएको थियो । तर, टनकपुरबाट पानी दिन भने भारतले आनाकानी गरिरहेको थियो । अब टनकपुरबाट पनि नेपालले पानी पाउन थालेपछि स्थानीय किसान पनि खुसी छन् ।भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिंचाइ पूर्वाधार तयार भने भइसकेको छैन । अहिले तयार रहेको पूर्वाधारले करिब ३ हजार हेक्टरमा तत्कालै सिंचाइ सुविधा पुग्ने अवस्था छ । शाखा नहरहरु विस्तार गरेर सकेसम्म अधिकतम् पानीको उपयोग गर्ने योजना रहेको विभागले बताएको छ ।महाकाली तेस्रोको सन् २००१ मा विस्तृत सम्भाव्यता अध्ययन भएको थियो । ११ अर्ब १६ करोड रुपैयाँमा बन्ने अनुमान गरिएको आयोजनाको लागत अहिले ३५ अर्ब नाघ्ने देखिएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ । गुरुयोजनाअनुसार समयमा काम नहुँदा अनुमानित लागत २१४ प्रतिशतले बढेको महालेखाको ठहर छ ।


कमेन्ट गर्नुहोस्