लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा गणतन्त्र दिवस भब्य मनाईने

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। लुम्बिनी प्रदेश सरकारले १५ औँ गणतन्त्र दिवस मनाउने भएको छ । दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राष्ट्रिय पर्वका रुपमा जेठ १५ गतेको गणतन्त्र दिवस मनाइने बताए । नेपाली जनताको दशकौँ लामो सङ्घर्षबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको जनाउँदै उनले गणतन्त्र दिवसलाई भव्य र सानदार बनाउन सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।


नेपालमा गणतन्त्र स्थापनामा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले दिवसलाई भव्य बनाउन सहयोग गर्न सञ्चारकर्मीलाई आग्रहसमेत गरे । मन्त्रालयका सचिव तथा गणतन्त्र दिवस सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव कोमलप्रसाद धमलाले बुटवलसँग जोडिएका पालिकासँग समन्वय गरी दिवस मनाउने तयारी गरिएको बताए ।दिवसका अवसरमा शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा शनिबार खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ । बुटवलको चौराहदेखि शङ्करनगरसम्म पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको सचिव धमलाले जानकारी दिए ।


सोही दिन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको संयोजनमा प्रदेश राजधानी र जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम गरिनेछ । दिवसको अवसरमा सबै सङ्घसंस्थाका कार्यालय र आमनागरिकलाई घरघरमा दीपावली गर्न आग्रह गरिनेछ ।गणतन्त्र दिवसका दिन बुटवलको सिद्धेश्वरी लालकुमारी माविमा गणतन्त्र दिवस मूल समारोह आयोजना गरिनेछ । समारोह सुरु हुनुपूर्व बुटवलको चौराहदेखि कार्यक्रमस्थलसम्म प्रभातफेरी हुनेछ । समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाका प्रमुख तथा उपप्रमुख, सदस्य, मन्त्रालयका कर्मचारी, विभिन्न सङ्घ संस्थाका प्रमुखलगायतको उपस्थिति रहनेछ ।


दिवसको भोलिपल्ट १६ गते कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको संयोजनमा प्रदेशमा वृक्षरोपण गर्ने कार्यक्रम राखिएको सचिव दाहालले बताए ।

कमेन्ट गर्नुहोस्