लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महामानव बुद्ध : विश्व शान्तिका दुत

IMG

बिक्रम थापा ( हाल दक्षिण कोरिया ) तिलोत्तमा सिटी न्युज , जेष्ठ १ गते २०७९। पवित्र भूमिको हाम्रो देश नेपाल जहाँ तथाकथित भगवान गौतम बुद्धले जन्म लिए।हिन्दु धर्मावलम्बीले भगवान विष्णुको अवतार मान्ने  महामानव बुद्ध एसियाको तारा भनेर चिनिन्छन।ईनले भोग,लोभ,मोह,घृणा,अंहकार,त्यागेर चार आर्य सत्यलाई पच्छ्याए।।बुद्ध सन्सारलाई बनाउने ईश्वर त थिएनन तर उनलाई  ईश्वर भन्दापनी राम्रा मानिस चाहिँ पक्कै मान्न सकिन्छ।उनैको कारण आज हाम्रो देशले खुब मान सम्मान पाएको छ।हाम्रो देश नेपाल सन्सारमा चिनिएको छ।आज बुद्ध जयन्ती विशेष भगवान बुद्धको महिमाको पन्नाबाट। बुद्ध कालमा पुग्नभन्दा पहिला हामी वैदिक कालमा पुग्नु जरुरी हुन्छ।


वैदिक काल तथा प्राचीन देश नेपाल

आजभन्दा पाँच हजार वर्ष पहिला पृथ्वी खुल्ला आकाश जस्तै थियो।धर्ती साझा थियो।कसैले यो धर्तिमा सिमाना,बार लगाएका थिएनन।सारा मानवजातीले घुमन्ते जीवन व्यातित गर्ने गर्दथे।कालान्तरमा मानवजातिले एउटा समाज बनाउन थाल्यो।अनि मानवजाती निश्चित स्थानमा बसोबास गर्न थाले।इसापुर्व पन्ध्र सय ताक हाम्रो नेपालमा ऋषिमुनिहरु पनि निवास गर्दथे।उनिहरु देविदेवतासँग साक्षात सम्पर्क गर्न सक्ने हैसियत राख्दथे।उनिहरुको आफ्नो लिपि र भाषा थियो।उनिहरुले त्योबेला पुस्तक लेखे।त्यो रचनालाई वेद भनियो।सन्सारको इतिहासमा यो पहिलो लिखित रचना हुन पुग्यो।उनिहरुले भाषालाई संस्कृत भनि नामाकरण गरे।यो अहिले बैज्ञानिक भाषा भनेर चिनिन्छ।त्यसो त संस्कृत हाम्रो नेपाली भाषाको धाईआमा पनि हुन।उनिहरुले पछ्याएको धर्म सनतन धर्म कहलायो।यो धर्मले "वसुधैव कुटुम्बकम" सन्सार नै एउटा परिवार हो भन्ने सन्देशलाई जन्म गरायो।हाम्रो देशलाई ऋषिमुनिले निवास गरेको पवित्र भूमिको प्राचीन देश नेपाल भनेर स्थापित गरायो।वेदको रचना गर्ने तथा संस्कृत भाषा जान्नेहरु आर्य कहलाए।


आर्यको बारेमा एक अनुच्छेद

पाश्चात्यहरुले आर्य भनेका फलानो ठाउँबाट आएका हुन।ढिस्कानो ठाउँबाट आएका हुन भनेर भ्रम छरिदिए।अनि आर्यलाई एउटा उच्च  जाति भनेर विभाजन गरिदिए।अहिले त हामी सारा नेपाली आफैं  बुझ्ने भएका छौं।हामी नेपाली १२६ थरिमा जो श्रेष्ठ आचरणको छ त्यसैलाई आर्य भनिन्छ भन्ने जानेका छौं।जो उच्च विचारको छ त्यो नै आर्य हो।आर्य भनेको कुनै जाति अथवा समूह हैन।भगवान राम,कृष्ण,अर्जुन आर्यपुत्र थिए।कपिलवस्तुका राजा सुद्धोदन आर्यपुत्र थिए।भगवान बुद्ध आर्य पुत्र नै हुन।तसर्थ आर्यमा हामी नेपाली भ्रमित छैनौं।भ्रमित हुने पनि छैनौं।


राजा महाराजाको काल (इसापुर्व ६००)

यो समय सन्सारमा सानासाना राज्यहरु अस्तित्वमा आइसकेका थिए।यसै ताक हाम्रो नेपाल उपत्यकामा किराँतहरु राज गर्दथे।कपिलवस्तुमा शाक्यवंशको राज्य थियो।त्यहाँ आर्यपुत्र राजा सुद्धोदनले राज गर्दथे।आर्यपुत्र राजा सुद्धोदनको रानिको नाम माया देवी थियो।कहानी अब गौतम बुद्धको।


असारको महिनाको त्यो रात  (इसापुर्व ५६४)

इसापुर्व ५६४ असार महिनाको रात थियो।आर्यपुत्र राजा सुद्धोदन र आर्यपुत्री महामाया गहिरो निदमा थिए।अचानक महामायाको सपनामा सुमेध नाम गरेका बोधीसत्व आएर भने "मैले अन्तिम जन्म पृथ्वीमा लिने निर्णय गरेको छु।के हजुर मेरो माता बनिदिनुहुन्छ?"देखेको सपना रानिले राजा सुद्धोदनलाई बताइन।राजाले भोलिपल्ट  स्वप्न विद्यामा प्रकाण्ड विद्वानलाई बोलाएर सपनाको बारेमा जान्न खोजे।ज्योतिषीहरुले जन्मने बालक "कि महान सम्राट बन्ने,कि त महान बुद्ध बनेर सन्सारको अँध्यारो मेटाउने छ"भनेर भविष्यवाणी गरिदिएका थिए।


जन्म वैशाख पुर्णिामा  (इसापुर्व ५६३)

त्यतिबेला प्रसूतिको लागि नारी माइत जाने चलन थियो।इसापुर्व ५६३ वैशाख पुर्णिामाको दिन माता मायादेवी पाल्कीमा बसेर माइतीघर देवदह लागिन।बाटोमा ठुला ठुला सालका रुखको जङ्गल पर्दथ्यो ।त्यसलाई लुम्बिनी बन भनिन्थ्यो।त्यो जङ्गलमा माता मायादेवीलाई विश्राम गर्न मन लाग्यो।उनी पाल्किबाट ओर्लिन।मातालाई अचानक प्रसव पीडा भयो।आडमा भएको साल वृक्षको हाँगो दाहिने हातले समातिन अनि एक तेजस्वी बालकलाई जन्म दिइन।आकाश खुसिले गर्जियो।ब्रह्मा तथा सबै देवी देवताले बालकलाई पुष्पवृष्टीले स्वागत गरे।माता महामाया कपिलवस्तु फर्किन।दरबारमा भब्य स्वागत गरियो।बालकको न्वारनको लागि धुरन्धर पण्डित,

पुजारीलाई आमन्त्रित गरियो।उनिहरुद्वारा बालकको नाम सिद्धार्थ गौतम भनेर नामाकरण गरियो।(माता मायादेवीले प्रसव पिडामा समातेको सालको रुख र माताको तस्बिर हाल लुम्बिनिमा भएको मायादेवि मन्दिर भित्र देख्न पाइन्छ।)


वैवाहिक सम्बन्ध  वैशाख पुर्णिामा  (इसापुर्व ५४७)

इतिहास अनुसार सिद्धार्थ गौतम दरबारको सुख सयलमा हुर्किए।सिद्धार्थले गुरु विश्वामित्रबाट वेद उपनिषद् पढे।युद्ध विद्या सिके।सोह्र वर्षको उमेरमा वैशाख पुर्णिामाको दिन  यसोधरा कन्यासँग विवाह भयो।उनिहरुबाट एक पुत्रको पनि जन्म भयो।एक दिन सिद्धार्थ आफ्नो सारथि छन्नासँग घोडा कण्ठकमा बसेर बगैंचामा टहल्दै थिए।बाटोमा एक कुप्री परेको वृद्धलाई देखे।सिद्धार्थले कारण जान्न चाहे।छन्नाले "राजकुमार हामी सबै एकदिन यस्तै वृद्ध हुनेछौं।"भनी उत्तर दिए।केही अगाडि एउटा रोगीलाई देखे।सिद्धार्थले सोध्न नपाउँदै सारथि छन्नाले हामी पनि एकदिन यस्तै रोगी हुने छौ राजकुमार भनिदिए।क्रमशः मृतक मानिसलाई काँधमा बोकेर हिँडेको लर्को देखे।छान्नाले सिद्धार्थलाई यसको बारेमा पनि भनिदिए "राजकुमार यहि हो हाम्रो यो धर्तिको अन्तिम यात्रा।हामी सारा मानव एकदिन यसरी नै मरेर जानेछौं।अलि अगाडि  ध्यानमा लीन भएको  सन्न्यासीलाई पनि देखे।तुरुन्त सारथि छन्नाले भने "राजकुमार यो मानिसले लोभ,मोह,धन दौलत सारा त्यागेर चिन्तनमा लीन भएको छ।यस्तो देखेपछि "सिद्धार्थले घोडा दरबार फर्काउन आदेश दिए।यी माथिका चार दृश्यले सिद्धार्थलाई खुब सताइरह्यो।उनले दरबारमा बसेर मानिस बूढो हुने,मर्ने,कष्ट हुने विविध कुराको कारण खोजे तर उत्तर पाएनन।तत्पश्चात उनको मनमा वैराग्य पलाएर आयो।एकदिन उनले दरबार त्याग्ने निश्चय गरे।


सिद्धार्थ गौतमको  गृह त्याग वैशाख पुर्णिामा  (५३४)

उनन्तिस वर्षको उमेरमा सिद्धार्थ गौतमले दरबारको सुख सयल,परिवार सारा छोडेर दक्षिणतिर लागे।सारनाथ भन्ने ठाउँमा पुगेर उद्धक रामपुत्र तथा अलार कलाम सँग शिक्षा लिए।तत्पश्चात पनि उनले जन्म र मृत्युुको रहस्य पत्ता लगाउन सकेनन।उनी पाँच जना साथिहरुसंग त्यहीँको निरञ्जना भन्ने नदिको नजिकै ढुङ्गेस्वरी पर्वतको जंगलमा बसेर कठोर तपस्या गर्न थाले।केही नखाइकन ६ वर्षसम्म  निरन्तर तपस्या गरिरहे।शरीरमा हाड र छाला मात्र रह्यो।तर पनि ज्ञान प्राप्ति भएन।अनि उनी त्यहाँ बाट उठेर हिंडे।नजिकैको  नदिमा स्नान गरेर अर्को स्थानको लागि प्रस्थान गरे।उनी कमजोर भएको कारण अचानक पिपलको वृक्षको जरोमा ठोक्किएर बेहोस भै ढले।


ग्वालाकी पुत्रीद्वारा खिर दान,सिद्धार्थलाई ज्ञान प्राप्ति वैशाख पुर्णिामा (५२८)

फागुन महिनाको गर्मीको दिन थियो।एकाबिहानै  सुजता भन्ने नारी पिपलको वृक्षमा जल र खिर चढाउन त्यहाँ आइन।पिपलको फेदमा सिद्धार्थ गौतमलाई ढलेको देखेपछि ती नारिले स्वयं साक्षात् भगवान भएको महसुस गरिन।अनि उनले बेहोस अवस्थामा ढलेका सिद्धार्थलाई  पानी र दूध पिलाइन।वर्षौंदेखिको आफ्नो व्रत सफल भएको भनी आफुले ल्याएको खिर पनि भोजन गराईन।सिद्धार्थले त्यो खिर खाएर उपवास तोडे।सुजताले "जसरी मेरो मनोकामना पुर्ण भयो तिम्रो मनोकामना पनि पुर्ण होस" भनी प्रार्थना गरिन।


सिद्धार्थ गौतमले भोजन ग्रहण गरेपछि नजिकै गयाको पिपलको वृक्षमा बसेर पुनः ध्यान गर्न थाले।पुनः लामो साधना पश्चात् इसापुर्व ५२८ वैशाख पुर्णिामाको रातमा सिद्धार्थ गौतमलाई ज्ञान प्राप्त भयो।करुणाको जन्म भयो।उनको जिवनमा अचानक  परिवर्तन आयो।उनलाई बुद्धत्व प्राप्त भयो।उनले ध्यान गरेको स्थान "बोधगया" कहलायो।पिपलको रुख "बोधिवृक्ष" कहलायो।आर्यपुत्र सिद्धार्थ गौतम "भगवान बुद्ध  "कहलाए। ज्ञान प्राप्तीपछि भगवान बुद्धले आफ्नो उपदेश पैंतालीस वर्ष सम्म बाँडे।बुद्धको लाखौ अनुयायीहरु जन्मिए।सान्सारलाई नैतिकताको पाठ सिकाए।सन्सारलाई उज्यालो बनाए।दुख निवारण गर्ने मार्ग देखाए। बुद्धले इश्वरको अर्को नाम नैतिकता साथै धर्मको अर्को नाम मानवता हो भनी स्थापित गरिदिए।


देह त्याग वैशाख पुर्णिामा (इसापुर्व ४८३)

उनलाई आफ्नो मृत्यु कहिले हुन्छ भन्ने पनि अवगत थियो। वैशाख पुर्णिामाको दिन उनी कुसिनगरको मल्ल राजाहरुको साल बनमा पुगे।बुद्धले त्यहाँ उनका अति प्रिय चेला आनन्द तथा सबै चेलाहरुलाई  भेला गराए।सालको रुखको फेदमा बसेर अन्तिम शिक्षा दिन थाले।"सबै संस्कार अनित्य छ।शोक कहिल्यै पनि नगर्नु।जसको निर्माण हुन्छ त्यसको निर्वाण हुन्छ।नष्ट भएर जान्छ।"भनेका थिए।त्यहाँ भेला भएका सारालाई बुद्ध धर्ममा कुनै आशङ्का भए प्रश्न गर्न भने।बुद्ध धर्म स्विकार्दै सबैले शिर झुकाएर बुद्धलाई नमन गरे।भगवान बुद्धले दाहिने कोल्टे परे।इसापुर्व ४८३ साल वैशाख पुर्णिमाको दिन ८० वर्षको उमेरमा सन्सार छोडे।


तत्कालिन समयमा शाक्य परिवार एउटा हिन्दु परिवार थियो।त्यही परिवारमा जन्मेको एउटा राजकुमारले बुद्धत्व प्राप्ति पश्चात् अलग्गै बुद्ध धर्मको स्थापना गर्‍यो।हिन्दु धर्मले शाक्यमुनिलाई भगवानको रुपमा नै स्वीकार गर्‍यो।यसको अर्थ हिन्दु धर्म बुद्धको महान ह्र्दयले टिकेको छ।बुद्ध धर्म हिन्दु धर्मको ज्ञान र दर्शनले उभिएको प्रष्ट झल्किन्छ।काठमाडौमा हेर्‍यौं भने बौद्ध धर्म मान्ने शाक्य तथा बज्राचार्य  परिवारकी कन्या हिन्दु धर्मको मन्दिरमा गएर कुमारी देवी  बन्छिन।हामी साराले उनलाई साक्षात देवीको रुपमा पुज्दछौं।हिन्दु धर्म र वौद्ध धर्मलाई जोड्ने पुल यहाँभन्दा ठूलो अन्यत्र कहिँ छैन।बौद्ध धर्म र वैदिक धर्मको जरो मजबुत बनिरहोस।१२६ थरिका हामी सारा नेपालिलाई अझै एकतामा बाँधोस।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता बिदेशीन नपरोस।साधु साधु साधु।


कमेन्ट गर्नुहोस्